लफ्टी इटनको विश्व कीर्तिमानमा नामिबियाद्वारा नेपाल पराजित ।
काठमाण्डौ:
जान निकोलस लफ्टी इटेन ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाएपछि नामिबियाले ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा मंगलबार नेपाललाई २० रनले पराजित गरेको छ ।
लफ्टी इटनले ३३ बलमै शतक बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रतियोगिताको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ६ रन बनायो । जबाफमा आएको नेपाल १८.४ ओभरमा १ सय ८६ रनमा अलआउट भयो ।
लफ्टी इटनले नेपालका कुशल मल्लको कीर्तिमानलाई तोडेका हुन् । कुशलले सेप्टेम्बरमा चीनमा भएको १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध यसअघि ३४ बलमा शतक बनाएका थिए । लफ्टी इटनले सोमपाल कामीको बलमा फाइन लेगमा चौका प्रहार गर्दै विश्व कीर्तिमानी शतक पूरा गरेका थिए ।
११ औं ओभरमा आएका उनले १७ बलमा अर्धशतक पूरा गरेका थिए । उनले कुल ३६ बल खेल्दै ११ चौका र ८ छक्का प्रहार गरे । लफ्टी इटन र डेब्यु गरिरहेका मालन क्रुगरले चौथो विकेटमा ५४ बलमा १ सय ३५ रनको साझेदारी गरे । नामिबियाले अन्तिम ९ ओभरमा १ सय ४० रन जोडेको थियो ।
क्रुगर ४८ बल खेली ६ चौका र २ छक्का प्रहार गरि ५९ रनमा अविजित रहे । माइकल भान लिङगेन २०, जेपी कोट्जे ११ र यान फ्रालिन्क ५ रनमा आउट भए । लिङगेनलाई करण केसीले आउट गरे भने कप्तान रोहित पौडेलले कोट्जे र फालिन्कलाई पेभिलियन फर्काएका थिए । रोहितले ४ ओभरमा ३० रन खर्चे ।
नेपालको ट्वान्टी-२० टोलीमा फर्किएका विशेषज्ञ बलर अविनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, करणले ३ ओभरमा ३२ रन खर्चेका थिए ।
दीपेन्द्रले ४८ रन बनाए पनि नेपाल जितको नजिक पुगेर रोकिएको थियो । उनले ३२ बल खेली समान २ चौका र २ छक्का प्रहार गरी १९ औं ओभरमा आउट भए । रुबेन ट्रम्पलमनले बाउन्सर बलमा दीपेन्द्रलाई विकेटकिपरबाट क्याच गराए भने त्यसको अर्को बलमा अविनाश बोहरालाई बोल्ड गरि नामिबियालाई जिताए ।
नेपालको सुरुआत राम्रो रहेन् । ट्रम्पलमेन्टले इनिङ्सको पहिलो बलमै कुशल भुर्तेललाई एलबीडब्लू आउट गरी नेपाललाई ठूलो झट्का दिएका थिए । अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्र बनाउन सके ।
रोहित र दीपेन्द्रले तेस्रो विकेटमा ५७ रनको साझेदारी गरे । रोहितले २४ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । त्यसपछि आएका गुलशनले १ चौका र १ छक्का प्रहार गरि ६ बलमा १२ रन बनाए । सन्दीप जोरा ५, विवेक यादव ६ रनमा आउट भए । तर सोमपालले ११ बलमा १ चौका र लगातार ३ छक्का प्रहार गर्दै २६ रन बनाएपछि नेपालको आाश ब्युँतिएको थियो ।
ट्रम्पलमनले ३.५ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । बर्नान्ड स्कोट्ल्ज, फ्राइलिन्क र लफ्टी इटनले २,२ विकेट लिए । नियमित कप्तान जेर्राहर्ड इरासमसलाई आराम दिएको नामिबियाबाट कप्तान जेजे स्मिटले टोलीको नेतृत्व गरेका थिए ।
नेपाल र नामिबिया पहिलो पटक ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलिरहेका हुन् । यी दुई टोली बीच २०१५ को ट्वान्टी २० विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो । ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता प्र्राप्त नभएको सो खेल वर्षाले रद्द भएको थियो ।
ट्वान्टी(२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपाल, नामियिबा सहित नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । यी तीनै टोली अमेरिका र वेस्ट इन्डिजले जुनमा आयोजना गर्ने ट्वान्टी-२० विश्वकपमा खेलिरहेका छन् ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…