दोस्रो चापाकोट महोत्सव सुरु

राधाकृष्ण डुम्रे/वालिङ :

स्याङ्जाको चापाकोटमा दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८० सुरु भएको छ। “हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नाराका साथ बिहीबारबाट महोत्सव सुरु भएको हो ।

चापाकोट नगरपालिका–९ स्थित गङ्गालाल माविको खेलमैदानमा सुरु भएको महोत्सवमा कृषि प्रदर्शनी, धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, रत्यौली, भजन, नृत्य र जिल्लास्तरीय भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने चापाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो । गाउँमा उत्पादित मौलिक एवम् कृषिजन्य वस्तुहरूको प्रदर्शनी र बिक्रीलाई प्राथमिकतामा राखिएको अध्यक्ष रानाले बताउनुभयो ।

महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरू छन् । महोत्सवको सङ्घीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, प्रदेश सांसद महेश भट्टराई, चापाकोट नगरपालिका नगरप्रमुख देव बहादुर खाँण (ईश्वर)) गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराई, जिल्ला प्रशासन कार्यालय स्याङ्जा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, चापाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष निर्मल राना लगायतले बोल्नु भएको थियो ।

चापाकोट महोत्सव एवम् व्यापार मेला फागुन १३ गतेसम्म चल्नेछ । Gorkhapatra online

Facebook Comments Box
TOP