चापाकोटमा जारी महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागिता

वालिङ :
स्याङ्जाको चापाकोटमा जारी दोस्रो चापाकोट महोत्सव एवम् व्यापारमेला २०८० मा दर्शकहरुको उल्लेख्य सहभागिता रहँदै आएको छ ।
“हाम्रो शान, हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नारासहित चापाकोट उद्योग वाणिज्य संघले यही फागुन ३ गतेदेखि सञ्चालन गरेको महोत्सवमा दैनिकरुपमा दर्शकहरुको घुँईचो रहेको छ । २०७५ सालमा पहिलो महोत्सव सञ्चालन गरेको संघले अहिले दोस्रो संस्करणको महोत्सव आयोजना गरेको हो । दैनिकरुपमा दर्शकहरुको उत्साहजनक उपस्थितिले भव्यरुपमा महोत्सव सफल हुने विश्वास रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले बताउनुभयो ।
स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सूचना प्रविधी, पुस्तक प्रदर्शनी, बाल उद्यान तथा औद्योगिक र व्यापारिक गरी दुई सय ५० स्टलहरु राखिएका छन् ।
मेलामा रत्यौलीगीत, लोक भजन, चापाकोट डान्स आइडल, वक्तृत्वकलालगायत प्रतियोगितात्मक कार्यक्रम समेटिएका छन् । दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले महोत्सवमा दर्शकहरुलाई आकर्षित गरेको छ ।
महोत्सवको पाँचौंदिन दिन सोमबार राष्ट्रिय कलाकारहरु श्याम राना, नेत्र खड्का, सुनिता नेपाली आधुनिक गायक याम नेपालीको प्रस्तुतिले दर्शकदिर्घालाई रोमाञ्चित पारेको थियो । यसैगरी चर्चित हास्य जोडी धुर्मुस सुन्तलीको प्रस्तुति विशेष रह्यो ।
यसैगरी भोलि मङ्गलबारको आकर्षणमा खुमन अधिकारी, जगत गुरुङ, नविना सुवेदी, जगत गौडेललगायतका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका सूचना तथा सञ्चार उप समितिका संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।
चीरपरिचत बरिष्ठ कार्यक्रम सञ्चालक नेत्रपाणी बास्तोलाकोसाथमा नियमित कार्यक्रम अन्तर्गतका प्रतियोगिताहरु रहने छन् ।
यसैगरी पहिलो पटक राष्ट्रियस्तरका खेलाडीहरुको सहभागितामा ८ गते मङ्गलबारदेखि १३ गतेसम्म खुल्ला भलिवल प्रतियोगिता सञ्चालन हुदैछ

Facebook Comments Box
TOP