स्याङ्जा उवासंघको निर्वाचन बिरुद्ध प्रशासनमा उजुरी

प्रकाश डोटेल,
स्याङ्जा, २४ माघ ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन प्रक्रिया बिरुद्ध उजुरी परेको छ । संघमा आबद्ध सदस्यहरु मार्फत जिल्ला प्रशासन कार्यालय स्याङ्जामा संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिबेशनका लागि वितरित सदस्यता र मतदान प्रक्रिया विधान प्रतिकुल भएको भन्दै उजुरी परेको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै छानबिन गरि निर्वाचन रद्द गरि पाउँ भन्ने उजुरी परेको छ । संघसँग आबद्ध व्यवसायीको नाममा परेको उजुरीमा नाम उल्लेख नगरि एक दर्जन बढि व्यवसायीले हस्ताक्षर गरेका छन् । उनीहरुले हालै सम्पन्न भएको निर्वाचन प्रक्रियालाई रद्द गरि पुनः निर्वाचन गर्न माग गरेका छन् ।

प्रशासनमा दर्ता भएको उजुरीमा संघको विधान २०५३ को (अन्तिम संशोधन २०७७) को परिच्छेद–५ को दफा ९ अनुसार सदस्यताको लागि योग्यता नपुगेको, दफा १० को सदस्यता प्राप्तिको प्रक्रिया पुरा नगरेको, दफा १३ अनुसार सदस्यता शुल्क नबुझाएको, र दफा १४ अनुसार सदस्यता नविकरण नगरिएको तथा संघको विधानको मर्म र भावनाको बर्खिलाप हुने गरि २०८० सालको असार मसान्तमा दर्ता भई २०७९ को समेत सदस्यता कायम गरिएको उल्लेख गरिएको छ ।

संघको विद्यानको परिच्छेद–५ मा संघको सदस्यता हुनका लागि सरकारी निकायमा व्यवसाय दर्ता गरि पान नं. प्राप्त गरेको फर्मवाला हुनुपर्ने व्यवस्था छ । पान नं. प्राप्त गरेपछि संघको सदस्यताका लागि निबेदन दिने र निबेदन उपर छानबिनपछि प्राप्त सदस्यता एक आर्थिक वर्ष नविकरण भएपछि मात्रै मताधिकार सहितको सदस्य हुने व्यवस्था छ ।

उता संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिबेशनका लागि वितरित सदस्यता आर्थिक वर्ष २०७९/०८० को असार मासान्तमा दर्ता गरि आर्थिक वर्ष २०७८÷०७९ को समेत विधान विपरित नविकरण गरिएको व्यवसायीको दाबी छ । मताधिकार नभएको व्यक्ति उम्मेदवार बनेको समेत व्यवसायीले उजुरीमा आरोप लगाएका छन् ।

उद्योग वाणिज्य संघको निर्वाचन सन्दर्भमा परेको उजुरीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नवनिर्वाचित समिति र निर्वाचन अधिकृतलाई सक्दो छिटो प्रतिबेदन दिन भन्दै पत्र काटेको छ । प्रतिबेदनसँगै सदस्यता वितरण र निर्वाचन प्रक्रियामा प्रयोग भएका कागजात समेत पेश गर्न बिपक्षीलाई निर्देशन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरि संघको ३७ औं साधारण सभा तथा अधिबेशनबाट संघको विधान परिच्छेद–५ कै दफा १५ को (उपदफा ग) अनुसार कारबाहीमा परेको र निजको सदस्यताले संघको अध्यक्ष बन्न नपाउने (निर्माण व्यवसायी) रहेको व्यक्ति अध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएको उजुरीमा उल्लेख गरिएको छ ।

२०७४ अघिको कार्यसमितिमा श्रेया कन्स्ट्रक्सन संचालकका नाताले हालका अध्यक्ष महादेब श्रेष्ठ संघको द्धितिय उपाध्यक्ष थिए । संघको अध्यक्ष हुन निर्माण व्यवसायीलाई विधानले रोक लगाएको छ । श्रेष्ठले २०८० मा आएर श्रेया स्पोर्ट फर्म दर्ता गरेपछि अध्यक्षमा उम्मेवार भएर निर्वाचित भएका हुन् ।

संघको अध्यक्ष हुन एक कार्यकाल पदाधिकारी बन्नुपर्ने विधानले व्यवस्था गरे पनि अध्यक्ष श्रेष्ठले द्धितिय उपाध्यक्ष हुँदा अध्यक्ष बन्न नमिल्ने फर्म र अध्यक्ष बन्दा नयाँ फर्म दर्र्ता मार्फत सदस्यता प्राप्त गरेको प्रक्रिया गलत भएको उजुरीमा आरोप लगाईएको छ ।

संघको हालै सम्पन्न निर्वाचनमा ५ सय ८६ सदस्यको मतदाता रहेकोमा ४ सय ७५ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

Facebook Comments Box
TOP