विरुवामा हवनकुण्ड र यज्ञशाला निर्माण

स्याङ्जा :
स्याङ्जाको विरुवा गाउँपालिका ४ ओरष्टे मडकिना गोफामा श्री नारायणेश्वर शिव मन्दिर परिसरमा नवनिर्मित हवनकुण्ड तथा यज्ञशालाको उद्घाटन गरिएको छ । धार्मिक उद्देश्यले मात्र नभइ समग्र नेपालको कल्याणका लागि वैज्ञानिक र अध्यात्मिक हिसाबले हवनकुण्ड र यज्ञशाला निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस क्षेत्रलाई धार्मिक पर्यटन मार्फत समृद्ध बनाउने भन्दै स्थानीय दिलिप गुरुङ एक्लैले हवनकुण्ड र यज्ञशाला निर्माणको सम्पूर्ण खर्च ब्यहोरेका छन् ।
गाउँपालिकाका अध्यक्ष सुर्य कुवर र हवनकुण्ड निर्माणका लागि सहयोगदाता स्थानीयबासी हाल यूकेमा बस्दै आएका दिलिप गुरुङ्ले यज्ञशालाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कुवरले श्री १००८ माता चम्पागिरि महाराजको जन्मथलोलाई धार्मिक एवं पर्यटकीय क्षेत्र बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताए । यसैगरी, दिलिप गुरुङले आफ्नो जन्मथलोको विकासका लागि आगामी दिनमा समेत सहयोग गर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, मन्दिर निर्माण ब्यवस्थापन समितिका उपाध्यक्ष धनप्रसाद गुरुङ, चम्पागिरी १००८ महाराजका शिष्यहरु रंगनाथ रेग्मी, नवराज सुवेदी लगायतले शुभकामनासहित आर्थिक सहयोग गर्ने बताए । नारायणेश्वर शिव मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रविन केसीले स्वागत एवं आजसम्म समितिले गरेका काम र प्रगती विवरण जानकारी गराएका थिए भने शिक्षक आर सी पोखरेलले कार्यक्रमको संचालन गरेका थिए ।
समाजसेवी दिलिप गुरुङ तथा धर्मपत्नी हिमा गुरुङले उपलब्ध गराएको १० लाख रुपैयाँले मन्दिर परिसरमा यज्ञशाला तथा हवनकुण्ड बनाइएको हो । कार्यक्रममा समाजसेवी दिलिपकुमार गुरुङलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा वेलायतबाट आएका विदेशीको समूहले नगद ३ लाख र स्वास्थ्यकर्मी एवं माताका शिष्य रंगनाथ रेग्मीले नगद ५० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेका छन् ।
यज्ञशालामा नियमित रुपमा यज्ञ गर्ने बताईएको छ । यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्ने, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद गुरुङको दावी छ । ‘नियमित रुपमा वैज्ञानिक विधिबाट यज्ञ सञ्चालन हुन्छ । जसले जल, स्थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण गर्छ,’ उनले भने, ‘यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

Facebook Comments Box
TOP