नेपाल र भारतका धार्मिक अभियन्ता कालीगण्डकीमा
राधाकृष्ण डुम्रे,
वालिङ, पुस १३ गते । कालीगण्डकी नदीको तट उत्तरवाहिनीमा ‘धर्म र विज्ञानको सद्भाव’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । वैज्ञानिक ऋषि बनाउने अभियानअन्तर्गत उत्तरवाहिनीमा सम्मेलन गरिएको हो ।
सम्मेलनमा बोल्ने वक्ताहरुले अध्यात्मले मात्रै मानवता र नैतिक मूल्य मान्यता कायम हुनसक्ने भन्दै मानव मूल्य, आस्था, भाइचाराका लागि अध्यात्मको अनिवार्य आवश्यकता रहेको बताउनुभयो ।
वेद विश्वको पहिलो वैज्ञानिक ग्रन्थ भएको उहाँहरुको निष्कर्ष छ । कार्यक्रममा बोल्नुहुँदै चैतन्य शाश्वत सभाका परमाचार्य तथा भारतका वैज्ञानिक डाक्टर भक्ति निष्काम सन्त महाराजले समस्त आविष्कारहरुको मूल वेद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वेदको महत्व र आवश्यकता अहिलेको समयमा झनै बढेर गएको छ । यो वैज्ञानिकको मूल ग्रन्थ हो ।”
भौतिक विज्ञानले जीवन विज्ञानलाई बुझ्न नसकेको भन्दै उहाँले जीवन विज्ञानलाई बुझ्न अध्यात्मविज्ञान अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा डा. श्रीवास कृष्णदास ब्रह्मचारी, डा. चिरञ्जीवी शर्मा, प्रा.डा. मोहन खरेल, प्रा. डा. रजनी मल्ल, डा. रामप्रसाद अर्याल, डा. तुलसीराम खनाल, डा. नारायण देव, नेपाल सरकारका सहसचिव वासुदेव काफ्ले, भरत गिरी, ईशा खड्का, डा. केशव प्रपन्नाचार्य, गायक बुद्धिसागर बस्याल, स्तम्भकार दिनकर नेपाललगायतले प्रत्यक्ष सहभागीता जनाउनुहुँदै धर्म र विज्ञानको सम्बन्ध तथा जीवन र जगतको विभिन्न पक्षका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।
यस्तै, डा. विद्यानाथ कोइराला, डा. भगवान् कोइराला, प्रा. डा. माधव पोखरेल, प्रा.डा. विशाल सिटौला, डा. दामोदर रेग्मी, डा. हरिचन्द्र कमली, पत्रकारहरु टीकाराम यात्री, राजेन्द्र बानियाँ, शालिक सुवेदीलगायतले भर्चुयल रुपमा कार्यक्रममा सहभागी हुनुभई मानव जीवन र जगतका सम्बन्धमा बहस गर्नुभएको थियो ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान र भारतको पश्चिम बङ्गालमा रहेको चैतन्य सास्वत सभाको संयुक्त आयोजनामा सम्मेलन गरिएको हो । कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण प्रभुले धर्म, संस्कार र संस्कृति र विज्ञानलाई सँगै जोडेर लैजानुपर्नेमा उहाँको जोड दिनुभयो ।
सम्मेलनमा अङ्ग्रेजी र संस्कृत भाषाका कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी हुन नेपाल र भारतबाट विभिन्न व्यक्तिहरु स्याङ्जा पुग्नुभएको थियो । स्याङ्जा र पाल्पाको सङ्गम स्थल कालीगण्डकी नदी दक्षिणबाट उत्तरतर्फ बगेको छ । झण्डै तीन किलोमिटर कालीगण्डकी दक्षिणबाट उत्तरतर्फ बगेको ठाउँलाई उत्तरवाहिनी नामाकरण गरी यसलाई बृहत् धार्मिक केन्द्र बनाउने अभियानमा प्रतिष्ठान छ । यो क्षेत्रमा ध्यान, तपस्या, पितृहरुको श्राद्ध र गङ्गाजलले मात्रै स्नान गर्ने हो भने सबै पाप नष्ट हुने धार्मिक विश्वास रही आएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष प्रभुजीले बताउनुभयो ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


