कालीगण्डकीमा अध्यक्ष कप तथा खेलकुद महोत्सव सुरु,६५१ जना खेलाडीले प्रतिस्पर्धा गर्ने ।

राधाकृष्ण डुम्रे/ वालिङ :
स्याङजाको कालीगण्डकी गाँउपालिकामा शुक्रवारबाट ‘पाँचौ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ सुरु भएको छ ।
कालीगण्डकीले कृषि पूर्वाधार विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर बर्षेनी खेलकुद महोत्सवको आयोजना गर्दै आएको छ ।
कालीगण्डकी गाँउपालिका वडा नं ७ मिर्मी स्थित खेलमैदानमा शुरु भएको खेलकुद महोत्सवमा सात वटा विधामा एक्काईस खेल खेलाईने कालीगण्डकी गाँउपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।
यस वर्षको खेलकुद महोत्सवमा बुद्धिचालको विधा थप गरिएको अध्यक्ष थापाको भनाई छ । विगतको अध्यक्ष कपमा बुद्धीचाल खेलको माग आएपछि खेलाडीको मागलाई मध्यनजर गर्दै बुद्धीचाल खेल थप गरिएको उहाँले बताउनु भयो ।
प्रतियोगितामा महिला तथा पुरुष भलिबल, फुटबल, एथलेटिक्स, व्यटमिन्टन, बुद्धीचाल र टेवल टेनिस गरी ६ विधामा खेलाईने र पुरुष तर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काईस खेल खेलाईने पालिकाले जनाएको छ ।
पालिकाले विभिन्न समयमा गर्दै आएको खेलकुद महोत्सबबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको अध्यक्ष थापाको भनाई छ । उहाँले भन्नुभयो, “पूर्वाधार विकास मात्र जनताको विकास होइन त्यसैले खेलकुद क्षेत्रमा पनि पालिकाले राम्रो बजेट खर्च गरिरहेको छ,जसको उपलव्धी पनि राम्रो रहेको छ ।”
पुष १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६५१ जनाले प्रतिस्पर्धा गर्नेछन् । सात वडा रहेको पालिकाका प्रत्येक वडाबाट ९३ जना सहभागि हुने अध्यक्ष थापाले बताउनु भयो । सहभागिको छनौट वडा स्तरबाट हुने गरेको छ । प्रतियोगितामा २१ स्वर्ण, २१ कास्य र २१ रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
खेलको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नु भएको हो ।

Facebook Comments Box
TOP