अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।

राधाकृष्ण डुम्रे/वालिङ :
रोजगारीको शिलशिलामा अमेरिकामा रहदै आउनु भएका दिपक जङ्ग विश्वकर्माले स्याङ्जाको शैक्षिक क्षेत्रको सुधारका लागि काम गर्न थाल्नु भएको छ । १६ बर्ष देखि अमेरिकामा बस्दै आउनु भएका विश्वकर्माले जन्मभूमि स्याङ्जा फर्किएर शैक्षिक क्षेत्रको सुधारका लागि अभियान शुरु गर्नु भएको हो ।
उहाँले आफ्नी आमा मनकुमारी विश्वकर्माको स्मृतिमा खोलिएको ‘मनकुमारी स्मृति ट्रष्ट’ मार्फत एक करोडको कोष स्थापना गर्नु भएको । कोष मार्फत स्याङ्जाको शैक्षिक स्तरमा सुधार ल्याउने र पैसाको अभावमा आफ्नो पढाई पुरा गर्न नपाउने अवस्थाका विद्यार्थीहरुलाई सहयोग गर्ने विश्वकर्माको योजना छ ।
आफ्नो जन्मभूमिका लागि केही गर्नु पर्छ भन्ने सोचका साथ यस्तो अभियान चलाएको उहाँको भनाई छ । उहाँले एकल प्रयासमा एक करोड कोष स्थापना गरेको जानकारी दिनुभयो । उहाँको स्थायी ठेगाना वालिङ नगरपालिका वडा नं. १३ हो ।
ट्रष्ट मार्फत जिल्लाका विभिन्न विद्यालयमा छुट्टाछुट्टै अक्षयकोषको स्थापना गर्ने र विद्यार्थीहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने योजना रहेको ट्रष्टका अध्यक्ष समेत रहनु भएका विश्वकर्माले बताउनु भयो ।
संस्थाले समाजमा बिपन्न,गरिब जेहेन्दार विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गर्ने तथा आवश्यक्ता अनुशार अनुदान रकम नै प्रदान गर्ने लक्ष्य बनाएको छ । अझैपनि कतिपय विद्यार्थी पैसाको अभावमा आफ्नो पढाई पुरा गर्न पाएकाछैनन् त्यस्ता विद्यार्थीलाई अनुदान रकम नै प्रदान गर्ने हाम्रो योजना हो अध्यक्ष विश्वकर्माले भन्नुभयो ।
शिक्षामा रचनात्मक र सिर्जनात्मक रुपमा शिक्षण सिकाई सञ्चालन गर्नका लागि संस्थागत रुपमा आजिवन सहयोग गर्ने उद्देश्यका साथ ट्रष्ट स्थापना गरिएको उहाँको भनाई छ । समाजसेवा गर्ने प्रेरणा आफ्नो आमाबाट पाएको बताउँदै विश्वकर्माले कोषको परिचालन सही रुपमा हुने विश्वास व्यक्त गर्नु भयो ।
मनकुमारी स्मृति ट्रष्ट मार्फत सञ्चालन हुने गरी स्याङ्जाको वालिङ १३ मा रहेको सरस्वती मावि र गल्याङ ८ को चण्डिका आधारभूत विद्यालयमा एक÷एक लाखको अक्षय कोषको स्थापना गरिएको छ ।
पुर्व युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको उपस्थितीमा दुवै विद्यालयमा अक्षय कोषको स्थापना गरिएको हो । ट्रष्ट र विद्यालयहरु बीच अक्षयकोषको सञ्चालनका सम्वन्धमा हस्ताक्षर भएको विश्वकर्माको भनाई छ ।
आफ्नो विद्यालयमा खोलिएको कोष मार्फत बार्षिक चार जना विद्यार्थीलाई पुरस्कृत गरिने सरस्वती माविका प्रधानाध्यापक याम बहादुर कुँवरले जानकारी दिनुभयो । वार्षिक रुपमा जेहन्दार एक जना सिमान्तकृत छात्र र छात्रा गरी दुई जना तथा वार्षिक रुपमा निवन्ध प्रतियोगिता गरी विजेता एक जनालाई पुरस्कृत गरिने प्रधानाध्यापक कुँवरको भनाई छ ।
संस्थाको बारेमा जानकारी गराउनु हुँदै लेखक तथा विश्लेषक शुसिल विश्वकर्माले पछिल्लो समय शिक्षामा समस्या देखिदै आएको बताउनु भयो । उहाँले भन्नुभयो,“शिक्षाको गुणस्तर खस्कदो छ, बालकालिकामा पठनीय संस्कृति कमजोर हुँदै गएको छ यसको सुधारका लागि काम गर्ने संस्थाको योजना छ ।”
विद्यालयमा खोलिएको अक्षयकोष ट्रष्ट मार्फत भए पनि एक करोड रकम भन्दा बाहिरको भएको दिपकजङ्ग विश्वकर्माको भनाई छ । उहाँले कोष मार्फत विद्यार्थीहरुलाई प्रत्यक्ष सहयोग गर्ने,कर्णाली तथा सुदुरपश्चिम क्षेत्रको शैक्षिक सुधारमा काम गर्ने, उत्पादनमुलक तथा प्राविधिक क्षेत्रमा विद्यार्थीलाई सहयोग गरी शिक्षाको गुणस्तरमा सहयोग गर्ने बताउनु भयो ।
तस्बिर ः गल्याङ ८ को चण्डिका आधारभूत विद्यालयमा अक्षयकोषको स्थापना गर्नु हुँदै पूर्व मन्त्री जगत विश्वकर्मा, मनकुमार स्मृति ट्रष्टका अध्यक्ष दिपकजङ्ग विश्वकर्मा लगायत ।

 

Facebook Comments Box
TOP