पश्चिमा र भारतीयहरुका कुरालाई विश्वास गर्दा नेपालको परम्परा लोप हुने अवस्थामा : डा जगमान् गुरुङ
वालिङ :
नेपाल ऋषि कल्प प्राज्ञ डा. जगमान गुरुङले नेपालको धार्मिक संस्कृतिमा विशिष्टता रहेको बताउनुभएको छ ।
नेपाल धार्मिक तथा सांस्कृतिक हिसाबले उर्वर रहेको भन्दै पश्चिमा र भारतीयहरुका कुरालाई विश्वास गर्दा नेपालको परम्परा लोप हुने अवस्थामा रहेको गुरुङको भनाई छ । उहाँले भन्नुभयो, “पश्चिमाहरुले जे भन्यो त्यो पत्याउने, आफ्नो परम्परा र संस्कृतिको वास्ता नगर्ने भूल हामीले गर्नु हुँदैन । हाम्रो वेद, रामायाण, गीताको अध्ययन गर्नुपर्छ ।”
माता प्रतिष्ठान वालिङद्वारा आयोजित विशेष प्रवचन सहितको भेलालाई सम्बोधन गर्दै नेपालको संस्कृति र परम्पराको संरक्षण र उजागर गर्न युवापुस्ताले सक्रियता देखाउनु पर्नेमा जोड दिनुभयो ।
डा. गुरुङले श्रवणकुमारले आफ्ना मातापिता प्रति गरेको कर्तव्य र आँधीखोलाको सभ्यतासँग जोडिएर युवाहरु मातापिता प्रतिष्ठान स्थापनाको परिकल्पना गरिनु राम्रो काम भएको बताउनु भयो ।
यसैगरी प्राध्यापक डा. जगनाथ रेग्मीले बच्चालाई बाल हेरचाह केन्द्रमा राख्न नहुने बताउनुभयो । वहाँले बच्चालाई बाल हेरचाह केन्द्रमा होइन, आफ्नो साथैमा राखेर संस्कारी र सुसंस्कृत बनाउन सकिनेमा जोड दिनुभयो।
यस्तै चैतन्य कृष्णले बालबालिकाहरुलाई नैतिक शिक्षा दिनुपर्ने बताउनु भयो । उहाँले विद्यालयमा पहिला जस्तो नैतिक शिक्षाको व्यवस्था नभएकाले अब रामायण लगायतका ग्रन्थहरु पढ्ने र पढाउनुपर्ने उल्लेख गर्नुभयो ।
बाल संस्कारका कुराहरु सिकाउने र पढाउने गर्नुपर्छ । बच्चालाई सानैदेखि संस्कार र आविस्कार सिकाउँदै सिर्जनशील र सुसंंस्कृत बनाउनुपर्छ । सयौं वर्ष मातापिताको सेवा गरेपनि हामीलाई हुर्काउँदा बढाउँदाको ऋण तीर्न सकिदैन चैतन्य कृष्णले भन्नुभयो, आफ्ना बाबा आमाको महत्व र संस्कारका बारेमा सानैदेखि बालबालिकाहरुलाई पढाउनुपर्छ ।
आधुनिक शिक्षासँगै सन्ततिहरुमा आ—आफ्ना मातापिता र पूर्खाहरुप्रतिको दायित्व वोध गराउने, युवाहरुलाई प्राचीन सभ्यता, धर्म, संस्कृति, संस्कार, रितीरिवाज र चाडपर्व लगायतका विषयहरुको महत्व बुझाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतिष्ठानले पूर्वीय दर्शन र नेपाली समाजले स्थापित गरेका मातापिता तथा ज्येष्ठ नागरिकप्रति गरिनुपर्ने व्यवहार, मूल्य मान्यताहरुको बारेमा अनुसन्धान र अभिलेख तयार पार्नेसमेत भेला आयोजक समिति संयोजक प्रदीप बगालेले जानकारी गराउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसदद्वय भोजराज अर्याल र कल्पना तिवारी, उपप्रमुख कविता तिवारीलगायतको विशिष्ट उपस्थिति रहेको थियो ।
भेलामा वालिङ क्षेत्रका बौद्धिक तथा सामाजिक अभियन्ता, धार्मिक एवम् शैक्षिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । प्रतिष्ठानले बुढेसकालमा साथीसंगै नाती भन्ने अवधारणाका साथ वल्ड एज क्लब स्थापना गर्ने र जहाँ ज्येष्ठ नागरिकहरुसंगै नातीनातिना खेल्ने, उनीहरुले आफ्ना हजुरबुवाआमाहरुबाट संस्कार सिक्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
तस्बिर : वालिङमा आयोजित विशेष कार्यक्रममा डा जगमान् गुरुङ लगायतका प्राज्ञहरु ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …