कालीगण्डकीमा भक्तजनको घुइँचो

ekadashi kaligandaki

स्याङजा,७ मङ्सिर ।
हरिबोधिनी एकादशीको अवसरमा बिहानैदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको छ । कालीगण्डकी अन्तर्गत स्याङ्जाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल सेतीवेणी शिला, रामनदी धाम राम्दी,केलादीघाट,हुँगीघाट,उत्तरबाहिनी लगायत स्थानमा बिहानैदेखि भीड लागेको हो । सेतीबेणी,राम्दी लगायतका स्थानमा विहानैदेखि भजनकृतन भईरहेको छ ।
बिहानै कालीगण्डकीमा गई स्नान गरेर पुजा गर्दा मनोकामना पुरा हुने,पुण्य प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ ।
यसैबीच राम्दी र सेतीवेणीमा विशेष मेला लागेको छ । स्याङ्जा, पर्वत र गुल्मीको सिमाना गल्याङमा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ । तीन जिल्ला र तीन अञ्चलको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि स्वदेश तथा विदेशवाट भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् ।
कालीगण्डकी ‘ए’ जलविद्युत् निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयात्रामार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ ।
यस्तै गण्डकी र लुम्बिनी प्रदेशको सिमाना राम्दीमा स्वदेशी तथा भारतीय भक्तजनहरुको घुँईचो रहेको छ । सिद्धार्थ राजमार्ग मै रहको कारण भारतीहरुको पनि राम्दीमा बाक्लो उपस्थिति रहने गरेको छ । उता कालीगण्डकी उत्तर फर्केर बहेको कालीगण्डकी उत्तरवाहिनीमा पनि विहानबाटै भजन किर्तन भएको छ ।
यसैबीच चापाकोट नगरपालिकाले सार्वजनिक विदा नै दिएर हरिबोधिनी एकादशी मनाएको छ । पालिकाले प्रत्येक बर्ष हरिबोधिनी एकादशीमा पालिकाभर सार्वजनिक विदा दिदै आएको छ । चापाकोटमा पर्ने कालीगण्डकी नदि तटमा विशेष मेला लागेको छ ।
तस्बिर ः गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सिमाना रहेको राम्दी (कालीगण्डकी तट)मा स्नान तथा पुजा गर्दै भक्तजनहरु । राधाकृष्ण डुम्रे ।

Facebook Comments Box
TOP