खाद्यान्न किन्न २ दिन हिँड्न बाध्य ।

pasal

मुगु:
चीनसँग सीमा जोडिएको जिल्लाको एकमात्र व्यापारिक नाका नखुल्दा मुगुमकार्मारोङवासी सास्ती भोग्न बाध्य छन् । कोरोना महामारी फैलिएदेखि बन्द चीन सीमास्थित नाग्चेनाग्ला नाका नखुल्दा स्थानीयलाई खाद्यान्न र दैनिक उपभोग्य सामग्री खरिदमा सास्ती भोग्नुपरेको हो ।

कोरोना महामारीका कारण चीनले ४ वर्षअघि उक्त नाका बन्द गरेको थियो । तर छिमेकी हुम्लाको हिल्सालगायतका नाकाहरू खुले पनि नाक्चेनाग्ला नाका अझै खुल्ने निश्चित नहुँदा स्थानीय महँगीको मारमा परेका छन् । ४ वर्षअघिसम्म हरेक वर्ष साउन १५ देखि ३० सम्म चीन सरकारले व्यापारिक हाटबजार लगाउने गर्थ्यो । जहाँबाट किनेको खाद्यान्नले स्थानीय वर्षभरिको जोहो गर्थे ।
नाका नखुलेपछि चीन सीमासँग जोडिएका चितै, डोल्फु, कार्ती, किम्री, माग्री, महलगायत १२ बस्तीका बासिन्दा खाद्यान्न किन्न २ दिन हिँडेर गमगढी, छाइल, पुलुलगायतका बजार धाउन बाध्य छन् । ‘चीन सीमामा १ दिनमा पुगिन्छ, तर अहिले खाद्यान्न किन्न २ दिन हिँड्न बाध्य छौं,’ मुगुमकार्मारोङ गाउँपालिका—२ मुगुगाउँका सोनाम तामाङले भने, ‘गाउँमा एक वर्षमा एक बाली उवा मात्र फल्छ, त्यसले ३ महिना पनि खान पुग्दैन, यहाँका बजारमा मोटो चामल पनि ५० किलोको बोरालाई ३ हजार ५ सयमा किन्नुपर्छ, नाका खुलेको भए १५ सयमा पाइन्थ्यो ।’ उनले गाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो भए पनि कहिल्यै चामल नहुने भएकाले ऋण काढेर भए पनि बजारको महँगो चामल उपभोग गर्नुपरेको सुनाए ।

नेपालतिरको खाद्यान्न र दैनिक उपभोग्य सामग्री धेरै महँगो हुँदा आफूहरूलाई समस्या भएको माग्रीगाउँका भुटेन तामाङले बताए । ‘यताबाट जडीबुटी लिएर जान्थ्यौं, त्यही पैसाले चीनबाट खाद्यान्न किनेर ल्याउँथ्यौं,’ उनले भने, ‘नेपालतिर जडीबुटी पनि बिक्दैन, नाका नखुल्दा दैनिक जीवन निर्वाह गर्न मुस्किल भएको छ ।’ कोरोनापछि नाका खुल्ने आशा गरे पनि अहिले निराश हुनुपरेको उनको गुनासो छ ।

यो वर्ष पनि नाका खुल्ने निश्चित नभएको मुगुमकार्मारोङ–२ का वडाध्यक्ष च्यावा तामाङले बताए । ‘यो वर्ष चीनले पक्कै नाका खुलाउँछ भन्ने ठूलो आशा थियो,’ उनले भने, ‘असोज लागिसक्यो, उताबाट नाका खुलाउने खबर आएको छैन ।’ पहिले साउनमै खुल्ने उत्तरी नाका अहिलेसम्म पनि नखुलेको उनको भनाइ छ । उनका अनुसार उक्त हाटबजार १९७५ देखि नै सीमा क्षेत्रमा लाग्दै आएको थियो । नाका नखुल्दा मुगु र तिब्बतको व्यापारिक र मितेरी साइनो टुट्ने अवस्था आएको उनले बताए । उनका अनुसार सीमा क्षेत्रका अधिकांश बासिन्दाले चीनका स्थानीयसँग मितेरी सम्बन्ध गाँसेका छन् ।

सस्तो मूल्यमा नुनदेखि चामल, घिउ, तेल, मैदा, दाललगायत तिब्बती उपभोग्य वस्तु उपभोग गर्दै आएका कार्मारोङवासी अहिले महँगो नेपाली वस्तु उपभोग गर्नुपर्ने बाध्यतामा रहेको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार नाक्चेनाङ्ला नाका बन्द हुँदा दसैं, तिहारका लागि तिब्बती भेडा, च्याङ्ग्रा पनि आउन छाडेका छन् । स्थानीयले संकलन गरेको यार्चागुम्बा, पाँचऔंले, गुच्छीच्याउ, भोल्तेलगायतको जडीबुटीले पनि भाउ पाउन समस्या भएको उनको भनाइ छ ।

 

Facebook Comments Box
TOP