बैंक तथा वित्तीय संस्थाको ध्यान उत्पादनमूलक क्षेत्रमा जानुपर्छ : मन्त्री गुरुङ

वालिङ, भदौ २४ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुेपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय वालिङको शुभारम्भ गर्दै मन्त्री गुरुङले उत्पादनको वृद्धि भएमा मात्रै देशको विकास सम्भव रहेको भन्दै व्यवसायमैत्री प्रकृतिको लगानी हुनु जरुरी रहेको बताउनुभएको हो ।

मन्त्री गुरुङले सबै राजनीतिक दल, व्यावसायी, नागरिक सबैको सहकार्यमा देश समृद्ध हुनसक्ने भन्दै सबैले देशप्रतिको कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस उपसभापति समेत रहनुभएका गुरुङले सरकारको आर्थिक क्रियाकलापलाई अगाडि बढाउन बाणिज्य बैंकले सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको आर्थिक विकास र सरकारको नीतिलाई अनुसरण गर्दै बैंकले काम गरिरहेको छ ।”

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले व्यावसायीको मर्म बुझेर बैंकले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले उत्पादनमा जाडे दिँदै आएको जानकारी गराउनुभयो । देशभर दुई सय ८२ शाखा रहेको बैंकले नागरिकलाई राहत हुने तथा व्यवसायीलाई सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको स्पष्ट पार्नुभयो ।

वालिङ ८ को मुख्य बजारमा बैंकको शाखा सञ्चालनमा आएको हो । यसअघि वाणिज्य बैंकले सदरमुकाम पुतलीबजार र गल्याङमा भने सेवा विस्तार गरिसकेको छ ।

Facebook Comments Box
TOP