वालिङ नगरपालिका स्वास्थ्य क्षेत्रमा ९७ प्रतिशत सफल

Health Waling Mun

मणी प्रसाद अर्याल/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका स्वास्थ्य क्षेत्रमा ९७ प्रतिशत सफल भएको छ । बुधबार नगरपालिकामा आयोजित वार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य शाखाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाले आ.व.२०७९/०८० को अवधिमा ९७ दशमलब २३ प्रतिशत सफलता हासिल गरेको जनाएको हो ।
वालिङ नगरपालिकाको आ.व.२०७९/०८० को अवधिमा स्वास्थ्य क्षेत्रमा सशर्त अनुदानमा विनियोजित बजेट ८ करोड ५३ लाख ६ हजार मध्य ९७ दशमलव २३ प्रतिशत खर्च भएको हो । आन्तरिक श्रोतबाट विनियोजित १ करोड ३० लाख मध्य ७१ दशमलव ५७ प्रतिशित रकम खर्च भएको हो ।
स्वास्थ्य क्षेत्रमा सुधारको लागि नगर अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका ५ वटा भवन निर्माण सम्पन्न भएको छ ।
आ.व.०७९/०८० को अवधिदेखि नै आकस्मिक प्रशुति शल्यक्रिया सेवा सञ्चालन गरिएको,सर्ने तथा नसर्ने रोगहरुको सर्वेक्षण तथा तथ्याङ्क सङ्कलन गरिएको तथा बृहत प्रजनन तथा आँखा शिविर सञ्चालन गरी नागरिकहरुलाई स्वास्थ्यका कार्यक्रमहरुसँग प्रत्यक्ष जोडी सेवा प्रदान गरिएको जनाइएको छ ।
नगरपालिकाले प्रवाह गरेका सेवा तथा कार्य सम्पादनको प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले शिशु तथा बालकालिकाहरुको लागि दिइने खोपको मात्रा सम्पूर्ण वडाहरुमा पूर्ण रुपमा दिइएको जानकारी दिनुभयो ।

Health Waling

उहाँले खोप लगाउन कुनै पनि बच्चा छुट भए नभएको यकिन गर्न सम्पूर्ण वडाहरुमा घरधुरी सर्वेक्षण गरिएको उल्लेख गर्नुभयो ।
पाण्डेले शहरी क्षेत्रमा स्तनपान गराउने आमाहरुको संख्या कम रहेको प्रतिवेदन प्रस्तुत गर्दै ग्रामिण क्षेत्रमा यसको अवस्था राम्रो रहेको जानकारी दिनुभयो ।
मातृशिशु स्वास्थ्यको लागि पोषणका कार्यक्रम,नियमित स्पास्थ्य जाँच,मस्वास्थ्य संस्थामा सुत्केरी गराउने सम्बन्धको चेतना तथा अभिमुखीकरण जस्ता कार्यक्रमहरु प्रभावकारी भएको उल्लेख गर्नुभयो ।
समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार गत ३ वर्षको अवधिमा वालिङ नगरपालिकामा सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको ,क्षयरोग मुक्त स्थानीय तह घोषणाको लागि सूक्ष्म योजना तथा कार्यक्रम तय गरिएको,एचआईभी तथा एड्स रोगीहरुको लागि उपचार तथा हेरचाह उचित तरिकाले गरिएको छ ।
नगरबासीहरुको बीचमा गरिएको स्वास्थ्य सर्वेक्षण अनुसार मुटु,मधुमेह,स्वास प्रस्वास लगायतका नसर्ने रोगहरु सर्ने रोगको तुलनामा उच्च रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रम भदौ ६ र ७ गते गरी दुई दिनसम्म चल्नेछ ।

Facebook Comments Box
TOP