स्याङ्जा : सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या घट्दा राजस्व बढ्यो
स्याङ्जा, साउन ७ गते :
आर्थिक वर्ष २०७९-८० मा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले राजस्व सङ्कलनमा वृद्धि गरेको छ भने दुर्घटनामा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताएको छ ।
ट्राफिक प्रमुख प्रवीण आचार्यले ट्राफिक प्रहरीले एक करोड ७२ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो । ट्राफिकले चार हजार ९२२ मोटर साइकल, एक हजार ८९ ट्रक, एक हजार ६६९ बस, तीन हजार २५४ जिप र कार, एक हजार ४२९ ट्याक्टर, अन्य ७६४ गरी १३ हजार १२७ सवारी साधनलाई कारबाही गर्दै उक्त राजस्व सङ्कलन गरेको हो ।
आव ०७८ -७९ मा नौ हजार ९१९ सवारी साधनलाई कारबाही गर्दै ७० लाख ८४ हजार राजस्व सङ्कलन ट्राफिक प्रहरीले गरेको थियो । ट्राफिक प्रहरीले सबैभन्दा धेरै मोटरसाइकलबाट ४० लाख चार हजार राजस्व सङ्कलन गरेको हो । यस्तै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षभन्दा २८ जनाले कमी आएको छ ।
आव ०७९-८० मा यहाँ १८ वटा सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको आचार्यले बताउनुभयो । दुर्घटनामा १० पुरुष, एक महिला र एक बच्चाको मृत्यु भएको हो भने १३ जना घाइते भएका हुन् । अघिल्लो आवमा २५ दुर्घटनामा ४० जनाको मृत्यु भएको थियो । यस्तै ट्राफिक प्रहरी कार्यालयले आव ०७९-८०मा दुई लाख २० हजार ४९६ जनामा जनचेतना फैलाएको छ । दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालना गराउने उद्देश्यले जनचेतना फैलाएको हो ।
सहायक हवलदार हेमबहादुर मल्लले दुई हजार ८९० पटक जनचेतना फैलाउँदा जिल्लाका धेरै नागरिकमा जनचेतना पुगेको बताउनुभयो । अघिल्लो आवमा ४१५ पटकमा ३३ हजार ७२५ जनामा जनचेतना ट्राफिकले फैलाएको थियो । जिल्लामा रहेका २१ जना ट्राफिक प्रहरीको सक्रियतामा राजस्व सङ्कलन बढी हुँदा दुर्घटनामा कमी ल्याउन सफल भएको मल्लले बताउनुभयो । Gorkhapatra/ File-pic
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


