बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो ‘च्याटबट’

Butwal Chatboot AI

बुटवल :

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ ।
बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो ।

बुटवल नामको च्याटबटको आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर सुरु गर्नुभयाे ।

च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा आम जनताको पहुँचलाई सहज र सरल बनाउनका लागि च्याटबट सञ्चालनमा ल्याइएको बताउनु भयाे ।

उहाँले नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम भइरहेको छ, कहिले सकिन्छ, कुन कुन काम कसरी हुन्छन् भन्ने जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने बताउनु भयाे ।

नगर प्रमुख पाण्डेयले नगरलाई अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि सूचना, प्रविधिको अधिकतम उपयोग गर्न नगरबासीलाई प्रेरित गर्ने र सूचना र सञ्चारको माध्यमबाट अधिकतम लाभ हासिल गर्न सकिने गरी उद्यमसँग जोड्ने गरी काम गरिरहेको बताउनुभयो ।

Khelaraj Pandey Butwal
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय

कार्यक्रममा च्याटबटको उपयोगिताबारे बताउँदै युएनडीपीका प्रदेश प्रमुख सुदिप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताउनु भयाे । उहाँले सूचना र सञ्चारको उपयोगबाट सरकारी सेवालाई सहज र सरल बनाउने काममा बुटवलले अगुवाई गर्न शुरु गरेको र यसले जनतालाई लाभ पुग्ने बिस्वास व्यक्त गर्नुभयाे  ।

कार्यक्रममा युएनडीपी एक्लेटर ल्याबका अमन श्रेष्ठ, दियो डट एआइका विजयन भट्टराई, नामीका उदीत अर्याल, सुप्रिया ढकालले एआई च्याटबटका बारेमा प्रस्तुति गरेका थिए ।

Sudip Aryal UNDP Nepal
युएनडीपीका प्रदेश प्रमुख सुदिप अर्याल

के हो च्याटबट ? 

च्याटबट (Chatbot) एक कम्प्युटर प्रोग्राम हो जसले मानिसहरूसँग  कुराकानी गर्दछ । च्याटबट प्रयोगकर्ताहरूले टेक्स्ट(अक्षर), भ्वाइस(आवाज), वा अन्य माध्यमहरूबाट कुराकानी गर्न सक्दछन् ।

च्याटबटले प्रयोगकर्ताहरूको प्रश्नहरूलाई विश्लेषण गर्दछ र उत्तरहरू प्रदान गर्दछ ।  च्याटबटहरूले मानिसहरूका सवालहरूलाई स्वतंत्र रूपमा जवाफ दिन सक्ने गरि प्रोग्राम गरिएको हुन्छ । बुटवलले सुरु गरेको च्याटबट उपमहानगरपालिकाले दिने सेवाहरुबारे जानकारी दिने गरी प्रोग्राम गरिएको छ । जस्तो कि, विवाह दर्ताका लागि के के काजगात आवश्यक पर्छ भनेर सोध्ने हो भने च्याटबटले ती कागजातको सूचि दिन्छ ।

Facebook Comments Box
TOP