नेपालमा हिन्दु धर्म मान्ने ८१ प्रतिशत बढी, अन्य धर्म कति ? (विवरणसहित), बढ्यो जातजाति र भाषाको संख्या

janagadana3

काठमाडौं :

राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको हो । कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको कार्यालयले जनाएको छ ।

२०६८ को जनगणना अनुसारका कुल १२५ जातजातिमा १७ वटा जातजाति थप भएको छ । २०६८ अनुसारको कुल १२३ वटा मातृभाषा मध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकोले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला विभिन्न व्यक्ति तथा संस्थाहरुबाट करिब ७० वटा माग र ध्यानाकर्षण पत्र दर्ता भएको र यस सन्दर्भमा विज्ञ तथा संवैधानिक आयोगका सम्बन्धित कर्मचारीहरुको सहभागितामा परामर्श गरिएको र विभिन्न व्यक्ति तथा संस्थाहरुसँग छलफल गरिएको कार्यालयले जनाएको छ ।

२०६८ सालको जनगणनामा प्रकाशित भएका जातजाति र भाषाका अतिरिक्त २०७८ मा उल्लेख भई आएका थप नयाँ जातजाति र भाषाहरुको सन्दर्भमा त्यसलाई अन्तिम रुप दिन विज्ञहरूबाट प्रासंगिक कागजातहरू अध्ययन गरी वर्गीकरण गरिएको कार्यालयले जनाएको छ ।

जातजाति, भाषा र धर्मसम्बन्धमा नतिजा प्रकाशनको पहिलो चरणमा स्थानीय तहसम्मको लिङ्ग अनुसारको जनसंख्या सार्वजनिक गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को धर्म सम्बन्धी तथ्यांक

१२ औं राष्ट्रिय जनगणनाले नेपालमा ८१ प्रतिशतभन्दा हिन्दु धर्म मान्ने मानिस रहेको देखाएको छ । मुख्यत नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास रहेको सार्वजनिक नतिजामा उल्लेख छ ।

कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना (८१.१९ प्रतिशत)ले हिन्दु धर्म मान्ने तथ्यांक देखिएको छ ।

यस्तै, दोस्रोमा बौद्ध धर्म मान्ने मानिस रहेका छन् । तथ्यांकअनुसार २३ लाख ९३ हजार ५४९ जना (८.२१ प्रतिशत)ले बौद्ध धर्म मान्ने रहेका छन् ।

त्यस्तै, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अन्तिम नतिजाले देखाएको छ ।

२०६८ को जनगणनाअनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए ।

हिन्दु : ८१.१९ प्रतिशत

बुद्ध : ८.२१ प्रतिशत

इस्लाम : ५.०९ प्रतिशत

किराँत : ३.१७ प्रतिशत

क्रिष्टियन: १.७६ प्रतिशत

Facebook Comments Box
TOP