शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन

प्रजिअ घिमिरेलाई ज्ञापनपत्र बुझाउदै स्याङ्जाका मानवअधिकारकर्मीहरु।

भवानी अधिकारी,
स्याङ्जा ९ जेठ :
मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि कारवाही सुनिश्चित गर्न आग्रह गर्दे मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित मन्त्रिपरिषद कार्यालयलाई बुझाईएको हो ।
समाज स्याङ्जाका सभापति हरिप्रसाद रेग्मीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘नक्कली भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेल सम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन अनुसन्धानगरी दोषीहरु जो कोही भए पनि कानूनसम्मत कारवाही सुनिश्चित गरी सुशासनको प्रत्याभूति सहित आर्थिक पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्न र मानवअधिकारमैत्री ऐन बनाई संक्रमणकालिन न्याय प्रक्रियालाई टुंगोमा पुरयाउन आग्रह गरिएको छ ।’
मानवअधिकारकर्मी सहितको टोलीले बुझाएको सो ज्ञापनपत्र बुझदै प्रजिअ घिमिरेले आफुलाई प्राप्त ज्ञापनपत्र सम्बन्धित निकायमा तत्काल प्रेषित गर्ने जानकारी गराए ।

Facebook Comments Box
TOP