गल्याङ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।
गल्याङ:
गल्याङ नगरपालिकाले प्रदान गरेको सेवा प्रवाहका विषयमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आलमदेवी मिडिया प्रा.लिको सहजीकरणमा शुक्रबार गल्याङ नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले समृद्व गल्याङ खुशी नगरबासी बनाउने अभियानका साथ आफू अगाडि वढेको र जनताको साथ सहयोग लिएर अगाडि बढेको कुरा बताउनु भयो ।
संघ तथा प्रदेश सरकार संग समन्वय गरेर गल्याङको सडक, स्वास्थ्य शिक्षा, खानेपानी, सिंचाई, बसपार्क र पुर्वाधार विकासको पक्षमा अहोरात्र लागिपरेको कुरा बताउनु भयो ।
कृषि तथा व्यावसायीक पशुपालन गरेर आत्मनिर्भर बनाउने उत्पादित बस्तुको बजारीकरण गर्ने बाटोघाटो पिच गरेर गल्याङ नगरलाई सुंगम नगरको रुपमा विकास गर्ने बसाईसराई कम गर्ने र रोजगारी सिर्जना गरेर उत्पादकत्व वृद्वि गर्ने पक्षमा नगरले काम गरेको कुरा बताउनु भयो ।
साना-तिना योजना भन्दा पनि जनताले देख्ने र महशुस गर्ने गरि विकास निर्माण कार्यलाई अगाडि बढाउने, समयानुकुल र व्यवाहारिक शिक्षा प्रदान गर्ने, अबको ३ वर्ष भित्र एक घर एक धारा निर्माण गर्ने, लल्याङको पहिरो नियन्त्रण गर्ने, गल्याङ केन्द्र भएर सञ्चालनमा रहेका बाटोहरु पिच तथा फराक गर्ने जस्ता कार्यमा आफ्नो ध्यान गएको कुरा बताउनु भयो ।

दोस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङ नगरपालिकाले दोस्रो चौमासिक सम्म आई पुग्दा ६० प्रतिसत कार्य सम्पन्न भएको विकास निर्माण कार्यले तिब्रता लिएको काम गर्दा सबै जातजाति समुदायलाई समेटेर अगाडि बढेको र अबका केही दिनमा जग्गाको कित्ताकाट खुल्ला गरिने सिमित साधन स्रोतलाई अत्याधिक मात्रामा प्रयोग गरेर गल्याङ नगरको विकासमा लागेको कुरा बताउनु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ,नेकपा एमाले गल्याङ नगर कमिटी अध्यक्ष दान बहादुर थापा,नेकपा एकिकृत माओवादी केन्द्रका गल्याङ नगरकमिटी अध्यक्ष चित्र बहादुर राना, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ(ध्रुर्व) गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ, चिराग आवासीय माध्यमिक विद्यालय सञ्चालक समिति अध्यक्ष गंगा प्रसाद श्रेष्ठ, गल्याङ नगरपालिका वडा नं.३ का पूर्व वडासदस्य अमृत श्रेष्ठ, स्थानीय समाजसेवी सूर्य प्रसाद भट्टराई, राम प्रसाद सापकोटा, छविलाल भट्टराई,राजन अधिकारी,यामकान्त चापागाई लगायतले गल्याङ नगरलाई समृद्व बनाउने अभियानमा नगरले खेलेको भूमिका र शिक्षा,स्वास्थ्य खानेपानी, पशुसेवा तथा कृषि बाटोघाटो सिंचाई जस्ता क्षेत्रको समस्याको विषयमा प्रश्न गर्नुका साथै नगरको विकासका लागि रचनात्मक सुझाव समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नको उत्तर गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई र प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले दिनु भएको थियो ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपप्रमुख हेमा न्यौपानेले र कार्यक्रमको सञ्चालन आलमदेवी मिडिया प्रा.लिका अध्यक्ष टिकाराम अधिकारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


