गर्भमै गरियो भ्रूणको मस्तिष्कको शल्यक्रिया

चिकित्सा विज्ञानको इतिहासमा नयाँ चमत्कार भएको छ । डाक्टरहरुले पहिलोपटक गर्भमा हुर्किरहेको भ्रूणको मस्तिष्कको शल्यक्रिया गर्न सफल भएका छन् ।

उक्त शल्यक्रिया मार्फत् डाक्टरहरुले गर्भको बच्चाको विकसित भैरहेको मस्तिष्कमा विकास हुने एक घातक डिसअर्डरलाई हटाउन सफल भएका छन् ।

स्ट्रोक जर्नलमा प्रकाशित रिपोर्ट अनुसार उक्त सर्जरीका लागि अल्ट्रासाउण्डको प्रयोग गरिएको थियो । भ्रूणको शल्यक्रिया गर्भावस्थाको ३४औं हप्तामा गरिएको थियो । भ्रूणमा ग्यालेन मालफंक्सन नामक समस्या पत्ता लागेको थियो । जुन मस्तिष्कका लागि प्रायः घातक तथा आक्रामक समस्या मानिन्छ ।

यसमा मस्तिष्कभित्रका धमनीहरू सामेल हुन्छन् जो पहिले सुक्ष्म रक्तनली अर्थात् क्यापिलरीबाट गुज्रिनुको साटो सीधै नसामा जोडिन्छन् । यस्तो हुँदा रक्तचाप उच्च हुन्छ र त्यसले जन्मका क्रममा वा जन्मपश्चात् मस्तिष्क वा मुटुमा अधिक तनाव सिर्जना भइ पल्मोनरी हाइपरटेन्सन, हार्ट फेलियर तथा अन्य प्राणघातक स्वास्थ्य समस्या निम्ताउन सक्दछ ।

गर्भावस्थाका क्रममा यसको उपचार गर्ने पद्धतिलाई इन्डोभास्कुलर एम्बोलाइजेसन भनिन्छ । यस्तो खालको सर्जरी यसअघि पनि गरिएको भएपनि यसपटक डाक्टरहरुले पूर्णरुपमा गर्भासयमै यो शल्यक्रिया सम्पन्न गरेका छन् ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासनको निगरानीमा गरिएको उक्त शल्यक्रियामा डाक्टरहरु भ्रूणको मस्तिष्कमा उच्च दबाबयुक्त रक्तकोशिका बन्द गर्न सफल भए । जसबाट जन्मका क्रममा मस्तिष्क तथा मुटुमा दबाब पर्नबाट रोक्न सकिन्छ ।

उक्त सर्जरीपछि जन्मिएको बच्चामा कुनै पनि समस्या देखिएन । अमेरिकाको बोस्टन बाल अस्पतालस्थित सेरेब्रोभास्कुलर सर्जरी तथा इन्टरभेन्सन सेन्टरका सह निर्देशक तथा शोधका मुख्य लेखक डेरेन बी ओरब्याकका अनुसार जन्मअघि ग्यालेन मालफंक्सनका लागि अल्ट्रासाउण्डसँग सम्बन्धित ट्रान्स्यूटेराइन एम्बोलिजेसनको प्रयोग गरिएको छ । जसका कारण अब यसअघि यो समस्या भएका बच्चा जन्मिने गरेकोमा यसले रोक्न सक्नेछ । onlinekhabar.com

Facebook Comments Box
TOP