ओमानमाथि नेपालको सानदार जित

काठमाडौं, वैशाख ८ गते । ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दै एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो ।

जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो । ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाउनुभयो ।

यस्तै सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो ।

यस खेलसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ । ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रच्नुभएको हो ।

उहाँले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गर्नुभएको हो । यसअघि एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने खेलाडीको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गर्नुभएको थियो । खानले सन् २०१८ मा बनाएको कीर्तिमान सन्दीपले तोड्नुभएको हो । यस्तै कराण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो । नेपालको यो एकदिवसीय इतिहासकै उच्च योगफल पनि हो ।

नेपालका लागि कुशल मल्लले शतकीय इनिङ्स खल्नुभयो । दुई ओपनर कुशल भुर्तेल र आशिष् शेखलाई शुन्य रनमा गुमाएको नेपालका लागि मल्लले एक सय आठ रनको सानदार शतकीय इनिङ्स खेल्नुभएको थियो। उहाँले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यससँगै कुशलले नेपालबाट एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाउनुभएको छ । उहाँको यो अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।

उहाँ समग्रमा एक दिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुनुहुन्छ । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हान्नुभएको थियो ।

यस्तै सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४८ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

भीम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाउनुभयो । सन्दीप लामिछानेले आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट हुनुभयो ।

Facebook Comments Box
TOP