सगरमाथा जाने बाटो बनाउने काम सुरु ।

सोलुखुम्ब:
हिमाल आरोहणको सिजन सुरु हुनै लाग्दा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने बाटो बनाउने काम सुरु भएको छ । आरोहरणका लागि दक्ष कामदारहरू (आइसफल डाक्टर) ले बाटो बनाउने कामलाई तीव्रता दिएका छन् ।
आइसफल डाक्टर आङसर्की शेर्पाको नेतृत्वमा ८ जनाको टोलीले अहिले बाटो बनाउने काम गरिरहेको छ । १५ दिनअघि काम सुरु गरेको हिमालका विज्ञहरुको उक्त टोलीले पहिलो आधार शिविरसम्म बाटो बनाइसकेको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीले जनाएको छ ।
हिमालको सरसफाई र बाटो निर्माण तथा मर्मतको जिम्मा पाएको एसपीसीसीले चालु सिजनको लागि अबको १५ दिनभित्र दोश्रो आधार शिविरसम्म बाटो बनाइसक्ने लक्ष्य लिएको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले बताए ।
एसपीसीसीबाट खटिएको दक्ष टोलीले अहिले खुम्बु आइसफलमा भर्याङ राख्ने र डोरी टाँग्ने काम गरिरहेको छ । ‘हिमालमा बाटो बनाउने काम एक जोखिमपूर्ण हुन्छ,’ अध्यक्ष शेर्पाले भने, ‘अबको १५ दिन भित्र चाहिँ दोश्रो आधार शिविरसम्मको काम सकिन्छ होला ।’
एसपीसीसीले सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको पनि बाटो बनाउने गर्छ । दोश्रो आधार शिविरबाट नै ल्होत्से र नुप्त्सेको पनि आरोहण गरिन्छ । दोस्रो शिविरसम्मको बाटो तयार भइसकेपछि त्यसभन्दा माथिको बाटो भने आरोहण गराउने कम्पनीहरूले निर्माण गर्दै आएका छन् । विसं २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने काम गैरसरकारी संस्था एसपीसीसीले गरिरहेको छ ।
यस्तै बाटो बनाउन प्रयोग हुने डोरी विदेशबाटै झिकाउने गरिन्छ । नेपालमा कमसल डोरी पाइने भएकाले अमेरिका र कोरियाबाट ९ मिलिमिटर मोटाइ भएका डोरी प्रयोग गर्ने गरेको आइसफल डाक्टरको भनाइ छ । दोश्रो आधार शिविरसम्म पुग्न ५ हजार ५ सय मिटरसम्म डोरी खर्च हुने गरेको छ ।
भर्याङ भने समय र हिमाली वातावरण हेरेर २० देखि ४० वटासम्म प्रयोग हुने गरेको छ । हिउँका खर्पसको अवस्थाका कारण भर्याङको संख्या निर्भर हुन्छ । सगरमाथा क्षेत्रमा बाटो बनाउनुअघि बौद्ध परम्पराअनुसार आधार शिविरमा पूजापाठ गरेर मात्रै काम सुरु गरिन्छ । ‘शेर्पाहरुले हिमाललाई देवता मान्ने परम्परा छ, त्यसै मान्यता अनुसार चढ्दा पाप नलागोस् भनेर नै पूजा गरेर मात्रै काम सुरु गर्ने गर्छौंं’ अध्यक्ष शेर्पाले भने ।
यसैबीच, बसन्तयाममा नेपालका हिमाल चढ्नका लागि अनुमति लिने क्रम सुरु भएको छ । वैशाखरजेठमा हुने पर्वतारोहणका लागि आरोहीहरूले अनुमति लिने क्रम सुरु भएको पर्यटन विभागले जनाएको छ । आरोहीका लागि अनुमति दिने तथा आरोहण प्रमाणीकरण गर्ने काम पर्यटन विभागले गर्दै आएको छ ।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…