युएईमाथि पपुवा न्युगिनी (पिएनजी)को ५६ रनको जित ।

png..

काठमाण्डौ:

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईमाथि पपुवा न्युगिनी (पिएनजी) ले ५६ रनको जित हात पारेको छ।

लिग-२ मा पिएनजीले युएईमाथि लगातार चार खेलमा जित हात पारेको हो। अघिल्लो साता युएईमा सकिएको सिरिजमा पिएनजीले दुवै खेलमा जित हात पारेको थियो। यस्तै २०२२ को मार्चमा भएको सिरिजमा पनि युएईविरुद्धको दोस्रो खेलमा पिएनजीले जित निकालेको थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार पिएनजीले दिएको २४७ रनको लक्ष्य पछ्याएको युएई ४२।२ ओभरमा १९० रनमै अलआउट भयो।  युएईका आर्यन लक्राले ५१ रन जोड्दा कप्तान तथा ओपनर मोहमद वासीमले ४१ रन बनाए।

बलिङमा पिएनजीका रेली हेकुरेले ३ विकेट लिए भने काबुआ मोरिआ र आसद भालाले २/२ विकेट लिए।  त्यसअघि युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन जोड‍्यो।

पिएनजीका लागि तीन ब्याटरले अर्धशतक प्रहार गर्न सफल भए। ओपनर किप्लिन डोरिगाले ४४ बलमा ५५ रन बनाए। अर्का ओपनिङ ब्‍याट्सम्यान हिरी हिरी ७७ रनको योगदान दिए।

सेसे बाउले नटआउट ८१ रन जोडे। उनले १०६ बलमा १० चौका प्रहार गरे। ३२ ओभरमा १८४ रन बनाउदा तीन विकेट गुमाएको पिएनजीले बाँकी ओभरमा ६२ रन मात्र जोड्न सक्यो।

बलिङमा युएईका आयन खानले ३ विकेट लिए भने जुनइद सिद्धिकी र जहूर खानले २/२ विकेट लिए।  नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ।

चार मध्ये पहिलो खेल जितेसँगै अब एक जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। बाँकी तीनै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।

पाँचौ स्थानको नेपालले ३३ खेलबाट ३४ अंक जोडेको छ। युएई ३३ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। पुछारको ‍पिएनजीले आज युएईलाई हराएसँगै ३४ खेलबाट ११ अंक छ।

 

Facebook Comments Box
TOP