आँधीखोला गाँउपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न
आँधीखोला गाँउपालिकाले आर्थिक बर्ष २०७९/८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनको सहजीकरणमा पालिकाले वडा नं. ६, फापरथुम स्वास्थ्य चौकीमा सुनुवाई गरेको हो । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सहभागिबाट उठेका जिज्ञासाको जवाफ दिँदै निर्वाचित भएको शुरुवातको चरण भएकाले प्राप्त सुझावहरु आफूलाई मार्गदर्शन भएकाले मनन् गर्दै पालिकालाई समृद्ध बनाउँन आफ्नो टिम लागिपर्ने बताउँनुभयो ।
अध्यक्ष पौडेलले पालिकाको लाइफलाइन पुतलीखेत कार्किनेटा बाटोलाई प्रदेश सांसद सुधिरकुमार पौडेल र संघीय सांसद राजुथापासँग सहकार्य आफ्नो कार्यकालमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बाँदर नियन्त्रणका लागि रुख कटानी कार्य टोल र सम्बन्धितसँगको सहकार्यमा निरन्तरता दिने बताउँदै पालिका र वडामा हुने कमीकमजोरीबाट पाठ सिकेर सुशासन र सेवा प्रवाहलाई चुस्त बनाउँने बताउँनुभयो ।
पालिकाका मतदाताले आफूलाई यहाँको विकास र समृद्धिको जिम्मा दिएकाले सबैको भावनालाई आत्मसााथ गर्दै योजनाबद्ध रुपमा पालिकाको मुहार फेरेर कामले जवाफ दिने बताउँनुभयो । उठेका जिज्ञासाको जवाफ दिँदै उपाध्यक्ष सीता थापाले गाँउपालिका भित्रका योजनाहरुको नियमित अनुगमन भइरहेको बताउँदै, योजनाको प्रभावकारी र गुणस्तरीय कार्यान्वयनमा जोड दिने बताउनुभयो । उपाध्यक्ष सीता थापाले न्यायिक समिति मार्फत पालिका भित्रका विवाद र समस्याहरुलाई मेलमिलाप मार्फत समाधान गर्न सन्तुलित ढंगको भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले चालु आर्थिक बर्षको दोस्रो चौमासिक अवधिसम्मको शाखागत प्रगति समिक्षा सहितको एकीकृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्राकृतिक श्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार आँधिखोला गाँउपालिका जिल्लाभरका पालिका मध्ये प्रथम र देशभरका पालिकामा नवौं स्थान हासिल गरेको बताउँदै सबै क्षेत्रमा चालु आ.व.मा ४३.८३ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिहरु गोपालप्रसाद ढकाल, मेघनाथ ढकाल, प्रकाश ढकाल, कुलप्रसाद पोख्रेल, मैतबहादुर दर्जी, प्रेम प्रसाद ढकाल, रघुनाथ पौडेल, नर्वदा ढकाल, दुर्गा ढकालले बाँदर नियन्त्रण, विद्यालयको शैक्षिक गुणस्तर, २ नं. वडा कार्यालयको भ्रमण लगायतका विषयमा जिज्ञासा राखेका थिए । त्यस्तै निर्मला पंगेनी, देवी सापकोटा, भुवन जि.सी., चन्द्र वि.क., टिकाराम ढकाल, राजेन्द्रप्रसाद ढकाल, दुर्गादेवी ढकाल, शिवप्रसाद ढकाल, पिताम्बर सापकोटा, चिरन्जीवि ढकाल, मेघनाथ पौडेल लगायतले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा, योजना, कर प्रणाली, कृषि र बजारीकरण, पुतलीखेत कार्किनेटा बाटोको बारेमा जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काँग्रेसका गाउँ कार्यसमितीका सभापति नरेन्द्रराज पौडेल, नेकपा एमालेका गाउँकमिटीका सचिब शिवप्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका गाउँ कमिटीका उपाध्यक्ष गिरीधारी पोख्रेलले गाउँपालिकाको विकास र सेवा प्रवाहलाई जनप्रतिनीधि र कर्मचारी मिलेर प्रभावकारी बनाउँन अनुरोध गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सीता थापा, धन्यबाद सहित उठेका जिज्ञासाको जवाफ वडा नं. ६ का अध्यक्ष नविन ढकाल र कार्यक्रमको संचालन रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


