टर्कीमा भूकम्प: सयौँको मृत्यु ।

earthaquake

 

काठमाण्डौ:
सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प १७.९ किमीको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।

टर्कीका उपराष्ट्रपति फट ओक्टेले भूकम्पका कारण टर्कीमा २८४ जनाको मृत्यु हुनुका साथै २ हजार ३२३ जना घाइते भएको बताएका छन् । अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । सीएनएनले भने भूकम्पमा ५ सयभन्दा धेरैको मृत्यु हुनुका साथै ३ हजार घाइते भएको जनाएको छ ।

यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

सोमबारको भूकम्पमा भने ४० सेकेन्डसम्म भुकम्पले हल्लाइरहेको महसुस गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

 

Facebook Comments Box
TOP