‘नेपाल टी– २० लिग स्पट फिक्सिङ’मा १२ जनालाई मुद्दा चल्ने ।
काठमाण्डौ:
फिक्सिङलगायतका कारणले विवादमा परेको नेपाल टी– २० लिगमा खेलाडी चयनदेखि नै शंकास्पद गतिविधि देखिएको प्रहरीले जनाएको छ । प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्ले फिक्सिङ गराउने पूर्वयोजनाअनुसार नै केही विदेशी खेलाडीलाई अनुबन्धित गराएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को निष्कर्ष छ ।
यस प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरी मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ, जसमा प्रतियोगिताको मुख्य साझेदार कम्पनी, टिमका मालिकसहित १२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालिएको छ । नेपाल क्रिकेट संघले व्यावसायिक तथा रणनीतिक साझेदारका रूपमा भित्र्याएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्का मालिकहरू नै फिक्सिङका मुख्य नाइके भएको सिआइबीले जनाएको छ । कम्पनीका सञ्चालकहरू जतिन अहलुवालिया, अभिशेख शाखलानी र विनोद धानीविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । उनीहरू छानबिन सुरु भएलगत्तै भागेका थिए ।
‘सो कम्पनीले सुरुदेखि नै प्रतियोगितालाई अस्वाभाविक परिणामतर्फ लैजान खोजेको देखियो,’ सिआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘विभिन्न फ्रेन्चाइज टिममा पनि उनीहरूकै हालिमुहाली देखियो, आर्थिक कारोबारलगायत विषयसमेत अपारदर्शी देखिएका छन् । हामीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बुझाएका छौँ ।’ केही विदेशी खेलाडी छनोट गर्दा राम्रो खेल्नेभन्दा फिक्सिङमा आफूहरूलाई सघाउने आधारमा छनोट गरेको प्रहरी अधिकारी बताउँछन् । प्रतियोगितामा पोखरा र लुम्बिनीबाहेकका सबै टिममा उनीहरूकै पकड रहेकोसमेत सिआइबीले जनाएको छ ।
सेभेन थ्री स्पोर्टस्सँगै निकट रहेका विराटनगर सुपर किंग्सका राहुल शर्माको पनि संलग्नता देखिएको छ । १२ जना संलग्न भए पनि पूर्वखेलाडी महबुब आलम, राष्ट्रिय टिमकै खेलाडी मोहमद आदिल आलम र वीरगन्जका क्रिकेटर नितेश गुप्ता पक्राउ मात्र पक्राउ परेका छन् । प्रतियोगिता खेलेकामध्ये आदिल र विराटनगर टिमको कप्तान रहेका वेस्टइन्डिजका खेलाडी एन्ड्री म्याकार्थीले बुकीको प्रभावमा परी योजनाअनुसार नै खेलेका थिए । प्रतियोगिताको १६औँ खेलमा पावर प्लेभित्र २९ रन मात्र बनाएर फिक्सिङ गरेको सिआइबीको निष्कर्ष छ ।
त्यस्तै, जनकपुर रोयल्सका खेलाडी आदिलले बुकीकै निर्देशनअनुसार दुईवटा खेलमा ‘नो बल’ र वाइड फालेको पुष्टि भइसकेको छ । पुस १२ मा भएको काठमाडौं नाइट्सविरुद्धको खेलमा १२ ओभरमा फिक्सिङअनुसार उनले ‘नो बल’ र वाइड फालेका थिए । जुन कुरा आदिलले प्रहरी बयानमा पनि स्विकारेका छन् । पूर्वराष्ट्रिय खेलाडी आलमले दुई खेलाडीलाई फिक्सिङको प्रस्ताव गरेका थिए । आलमलाई यसमा लगाउने सप्तरीका रवि माझीलाई पनि फरारका रूपमा मुद्दा चलाउन लागिएको छ । भारतमा बस्ने उनी बुकी भएको अनुसन्धानमा खुलेको छ । त्यस्तै, आदिललाई समीर शेख नामक व्यक्तिले फिक्सिङका लागि परिचालन गरेका थिए ।
काठमाडौं नाइट्सका मालिक नै संलग्न ।
काठमाडौं नाइट्सका मालिक नवीन कँडेलको पनि फिक्सिङमा मिलेमतो रहेको सिआइबीको निष्कर्ष छ । उनलाई पनि मुद्दा चलाउनुपर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं नाइट्समा आबद्ध एक विदेशी खेलाडीलाई टिमकै व्यवस्थापनमा आबद्ध विकास धानीले फिक्सिङको प्रस्ताव गरेका थिए । धानी सेभेन थ्री स्पोर्टस्सँगै आबद्ध व्यक्ति हुन् । ती विदेशी खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)लाई यसबारे जानकारी गराएपछि छानबिन सुरु भएको थियो । त्यसको भोलिपल्टै आकस्मिक काम भनेर भारत गएका उनीहरू फर्किएनन् ।
टिमको व्यवस्थापनबाटै खेलाडीलाई यसरी फिक्सिङको प्रस्ताव गएपछि मालिक नवीन कँडेललाई पनि प्रहरीले प्रतिवादी बनाउन रायसहित अनुसन्धान प्रतिवेदन अघि बढाएको छ । प्रहरीका अनुसार कँडेलको प्रत्यक्ष संलग्नताको प्रमाण भेटिएको छैन, तर धेरै शंकास्पद गतिविधि देखिएका छन् ।
सेभेन थ्री स्पोर्टस्का मालिक जतिनसँग निकट रहेका कँडेलले आर्थिक स्रोत देखाउन सकेका छैनन् । आफू जतिनकै आग्रहमा सो टिमको मालिक बसेको, तर विस्तृत जानकारी नभएको भनेर उनले सिआइबीमा कागज गरेका थिए । तर, जतिनको अवैध गतिविधिमा उनको सहयोग देखिएको अनुसन्धानमा आबद्ध सिआइबी अधिकारी बताउँछन् । सुरुमा उनी सिआइबीमा उपस्थित भए पनि हाल फरार छन् ।
वीरगन्जबाट पक्राउ परेका नितेश गुप्ताले पोखरा एभेन्जर्सका खेलाडीलाई फिक्सिङको प्रस्ताव राखेका थिए । नितेशलाई सघाउने भारतीय बुकीलाई पनि प्रतिवादी बनाउन लागिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अभियोग दायर गर्न लागिएको छ । जसअनुसार तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । नेपालमा कानुन बनेपछि पहिलोपटक खेलकुदमा मिलेमतोसम्बन्धी मुद्दा दायर हुन लागेको हो । सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
समाचार
थप सामाग्री-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
४ दिन अगाडि
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण…


