विनोद चौधरीले बढाए १० करोड डलर सम्पत्ति, कतिऔँ छ फोर्ब्स वरीयता?

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको आम्दानी १० करोड डलर बढेको छ।

सन् २०२१ मा भन्दा सन् २०२२ मा उनको आम्दानी १० करोड डलर बढेको हो।

योसँगै चौधरीसँग फेब्रुअरी २० अर्थात् आज सोमबारसम्म १ अर्ब ५० करोड अमेरिकी डलर सम्पत्ति रहेको फोर्ब्सको रियल टाइम नेटवर्थले देखाएको छ।

सोमबार उनको विश्व वरीयता १८ सय ५०औँ अर्बपतिका रुपमा रहेको छ।

चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन् भने नेपालका एक मात्र डलर अर्बपति। उनको नबिल बैंक, सीजी फुड्स (वाइवाइ चाउचाउ) मा ठूलो सेयर नियन्त्रण छ।

चौधरी ग्रुपका मुख्य व्यक्ति उनको वाइवाइ चाउचाउका फ्याक्ट्रीहरु भारत, सर्विया र बंगलादेशमा छ। अहिले इजिप्टमा पनि फ्याक्ट्री निर्माण भइरहेको छ। फ्याक्ट्रीमा विभिनन ससेसहरु पनि उत्पादन गर्ने ग्रुपको योजना छ।

यसबाहेक सीजीको होटल सम्पत्ति स्वामित्व र व्यवस्थापन गरी १३५ वटा छन्। भारतको ताज होटल चेनसँगै ग्रुपले विलासी होटलमा पनि लगानी गरेको छ।

उनका छोरा निर्वाणले नेपालको व्यवसाय हेरिरहेका छन् भने राहुल र वरुण अन्य दुई छोराले नेपालबाहिरको व्यवसाय हेरिरहेका छन्। निर्वाण सीजीका प्रबन्धनिर्देशक हुन्।

सन् २०१३ मा फोर्ब्स वरीयतामा प्रवेश गरेका चौधरीको १ अर्ब डलर सम्पत्ति थियो। त्यसयता सन् २०१४ मा १.१ अर्ब डलर, सन् २०१५ मा १.३ अर्ब डलर पुगेको थियो।

सन् २०१६ मा फेरि घटेर १.१ अर्ब डलर रहेकामा लगातार ३ वर्षसम्म सम्पत्ति बढेको थियो। योसँगै सन् २०१७ मा १.३ अर्ब डलर, सन् २०१८ मा १.५ अर्ब डलर, सन् २०१९ मा १.७ अर्ब डलरसम्म पुगेको थियो।

सन् २०२० मा कोरोना महामारीसँगै सम्पत्ति घटेर १.४ अर्ब डलरमा खुम्चिएको थियो। सन् २०२१ मा १.४ अर्ब डलर नै रहेकामा सन् २०२२ मा १० करोड डलर बढेर १.५ अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ।

चौधरी ६७ वर्ष उमेरका व्यवसायी हुन्। Nepalkhabar.com

Facebook Comments Box
TOP