मेयर बालेन्द्र साहको कार्यशैलीको विरोध गर्दै प्रदर्शन ।

balen shah

काठमाण्डौ:
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यशैलीको विरोध जनाउँदै अभियन्ता, विभिन्न संघसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा आइतबार आयोजित प्रदर्शनमा उनीहरूले अध्ययन र विकल्पविनाको योजनाका कारण सर्वसाधारणले पीडा भोग्नुपरेको आरोप लगाएका छन् । त्यस्ता गतिविधि तत्काल बन्द गर्न दबाब दिने उद्देश्यले शान्तिपूर्ण खबरदारीसभा गरिएको सहभागीहरूको भनाइ छ ।

मेयर साहले नागरिकको निजी सम्पत्तिमा आफूखुसी डोजर लगाएको आरोप पनि धर्ना र प्रदर्शनमा सहभागीहरूले लगाएका छन् । उनीहरूले ‘ज्यादती बन्द गर, डोजर आतंक बन्द गर, सडक विस्तारका क्रममा उठीबास लगाउन पाइँदैन, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, उठीबास गर्ने विकास चाहिँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर’जस्ता नारा लेखिएको प्लेकार्डसहित विरोध गरेका थिए ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी भन्छन् ,मेयर साहले जथाभावी रहेको पार्किङ हटाउने, फुटपाथ खुलाउने, टुकुचा खोल्नेलगायत धेरै राम्रो काम गर्नुभयो । तर, योजना मात्र बनाएर भएन नि । अध्ययन गर्नुपर्‍यो नि । विनाअध्ययनको योजना बनाएर जनताले दुःख मात्रै पाए । विनापूर्वाधार पार्किङ हटाउनुभयो । तर, विकल्प दिनुभएन । त्यसका विरुद्धमा हाम्रो प्रदर्शन हो । आजको हाम्रो सांकेतिक खबरदारी मात्र हो ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष सुमन सायमीका अनुसार कामपाका प्रमुख बालेन्द्र साह राम्रो काम गर्ने उद्देश्यका साथ निर्वाचित भए पनि अहिले उनको कार्यशैली नागरिकको पक्षमा नरहेकाले धर्ना कार्यक्रम गरेको हो । मेयर साहको प्रतिस्पर्धीसमेत रहेका सायमीले गैरकानुनी रूपमा गरेको ज्यादती बन्द गर्न शान्तिपूर्ण खबरदारीसभा गरेको बताए ।

आगामी दिनमा कामपाबाट यस्ता कामले निरन्तरता पाए आन्दोलनका कार्यक्रम चर्काउने पनि उनले चेतावनी दिए । कामपाले पूर्वसूचनाविना निजी घरमा डोजर चलाएको भन्दै यसअघि पनि मेयर साहविरुद्ध आन्दोलन भएको थियो । धर्ना कार्यक्रममा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, ज्यापु महागुठी नेपासहित विभिन्न संघ–संस्थाको उपस्थिति थियो । महानगरले काठमाडौंको सभ्यता र सम्पदा जोगाउने भन्दै बागमती नदी–किनार, धोबीखोला करिडोरलगायतका अव्यवस्थित बस्तीमाथि डोजर चलाउँदै आएको छ ।

 

Facebook Comments Box
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि

पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…

TOP