आगालागीबाट बच्न सुरक्षा अभ्यास

स्याङ्जा :
सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले स्याङ्जामा आगालागी सम्वन्धी सुरक्षा अभ्यास सचेतना कार्यक्रम गरेका छन् । आगालागीबाट बच्न के कस्तो उपाय अपनाउनु पर्छ भन्ने सचेतना दिन सुरक्षा अभ्यास गरिएको हो । प्रमुख जिल्ला अधिकारी स्याङ्जाका गंगाबहादुर क्षेत्रीको प्रमुख आथित्यतामा गरिएको यो अभ्यास जिल्ला सुरक्षा समिति र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा गरिएको थियो । वालिङ मोडमा आयोजना गरिएको उक्त अभ्यासमा नेपाली सेनाका ५ र सशस्त्र प्रहरीका ९ जना गरी १४ जना सुरक्षाकर्मीले प्रयोगात्मक प्रर्दशन गरेका थिए ।

सयौ नागरिकको सहभागितामा गरिएको आगालागी सुरक्षा अभ्यासमा ग्याँस सिलिण्डरबाट हुन सक्ने सम्भावना, सुरक्षा र नियन्त्रणका विधि प्रयोगात्मकरुपमा देखाईएको थियो । दैनिक प्रयोगमा आउने ग्याँसबाट हुनेसक्ने आगालागीलाई तत्काल नियन्त्रण गर्न सुरक्षा विधि देखाइएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ३० गुल्मका गुल्मपति प्रहरी नायव उपरिक्षक राजनलाल श्रेष्ठले बताए । ग्याँस सिलिण्डरलाई आगालागीको प्रयोगात्मकका रुपमा मात्रै प्रयोग गरिएको हो उनले भने,‘आगालागी लाग्ने अन्यकारणहरुका बारेमा पनि सचेतना गरेका छौं ।’ प्रायजसो गर्मी मौसममा हुन सक्ने आगालागीबाट नागरिक कसरी बच्ने र कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने सचेतनामुलक सन्देश दिन यो कार्यक्रम आयोजना गरेका हौं उनले भने ।

नेपाली सेना समरजित गुल्मका सेनानी हरीप्रसाद भट्टराईको कमाण्ड र सशस्त्र प्रहरी बलका गुल्मपति श्रेष्ठको कामण्डमा आगालागी सुरक्षा अभ्यास कार्यक्रम प्रदर्शन गरिएको थियो । यो सिकाई र अभ्यासले हामीलाई आगालागी हुदा केही हदसम्म सघाउ पुग्ने स्थानीयले बताए । यस्ता कार्यक्रमहरुको निरन्तरताका लागि उनीहरुले अनुरोध समेत गरेका छन् ।

Facebook Comments Box
TOP