विद्यार्थीका लागी गंड्यौले मल बनाउने तालिम ।

वालिङ :

वालिङ १३ स्थित लक्ष्मी मावि बोधिभञ्याङका विद्यार्थीहरुलाई गडयौले मल बनाउने तालिम दिईएको छ । खेर गईरहेका कुहिने वस्तुहरुको प्रयोग गरी बनाईने गड्यौले मल बनाउने तालिम प्रदान गरिएको हो । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङ ८ ले कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई तालिम दिईएको हो । कुहिने फोहोरबाट बनाईने मलको प्रयोगबाट उत्पादित फलफुल तरकारी तथा अन्नबालीको उपयोगले मानव स्वास्थ्य तथा वातावरणमा पार्ने सकरात्मक प्रभावको बारेमा जनचेतनामुलक कार्यक्रम सहित तालिम दिईएको हो ।

कक्षा ८, ९ र १० का गरी डेढ सय विद्यार्थी तालिमबाट लाभान्वित भएका छन् । तालिममा संस्थाका उपाध्यक्ष नेत्रप्रसाद सुवेदी र हुमनाथ लामिछानेले सहजीकरण गर्नुभएको थियो । विद्यालयले आफ्नै करेसाबारी निर्माण गरी खाजा बनाउँदा प्रयोग हुने तरकारी तथा फलफुल समेत उत्पादन गर्ने लक्ष्य लिएको विद्यालयका प्रधानाध्यापक सीता गौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खाजा कार्यक्रम अन्र्तगत अहिले विद्यालयमै खाजा बनाउने गरिन्छ । यसरी बनाईने खाजामा प्रयोग हुने तरकारी हामीले करेसाबारीमै उत्पादन गर्ने लक्ष्य लिएका छौँ । करेसाबारीमा आवश्यक मल बनाउन यो तालिमले निकै सहयोग गरेको छ । साथै विद्यार्थीले यो तालिम लिएपछि अभिभावक तथा छरछिमेकलाई समेत सहजीकरण गर्नेछन् भन्नेमा हामी विश्वस्थ छौँ । यो तालिमको लागी संस्थाप्रति म धन्यवाद व्यक्त गर्दछु ।”

कार्यक्रम संस्थाका अध्यक्ष ल्या. यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयमा अहिले २ सय ५० विद्यार्थीले अध्ययन गर्दै आएका छन् । विद्यालयमा एडुटेक नामक संस्थाबाट २ जना प्रशिक्षकहरुद्धारा कक्षा ६ देखि माथिका विद्यार्थीरुलाई कम्युटर तालिम समेत दिईरहेको विद्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP