स्याङ्जामा मतदाता शिक्षा अभियान, ९७ जना स्वयंसेवक खटाइदै

matadata edu syyangja

भवानी अधिकारी/स्याङ्जा : मतदातालाई मतदानमा सक्रिय सहभागिता जनाउन र मतलाई बदर हुन नदिने उद्देश्यले स्याङ्जामा बिहीबार कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गरिने भएको छ।

मतदाता शिक्षा जिल्लास्तरीय समितिको मंगलबार बसेको बैठकले जिल्लाभर वडादेखि नै सो अभियान सञ्‍चालन गर्ने निर्णय गरेको हो।

पन्ध्र दिन लामो मतदाता शिक्षा कार्यक्रममा वडामा सेवारत स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने भएको हो। स्याङ्जामा ११ पालिकामा ९७ वडा छन्। प्रतिवडा एकजना स्वयंसेविकालाई खटाइने भएको छ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गरिने भएको बताए।

उनले भने, ‘५ वर्षको एकपटक मतदान गर्न पाउने अधिकारको मतदाताले नै सही सदुपयोग गर्नुपर्छ।’

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लास्तरीय, पालिकास्तरीय र वडास्तरीय समिति गठन गरिएका छन्।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय जिल्लास्तरीय समिति छ। समितिको सदस्यमा जिल्ला समन्वय अधिकारी, सदरमुकामको स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, पत्रकार महासंघका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने प्रावधान छ।

यसैगरी, स्थानीय पालिकास्तरीय र वडास्तरीय समिति समेत गठन भएका छन् । स्थानीय तह स्तरमा सम्बन्धित स्थानीय तहहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ४ सदस्य र वडास्तरमा वडा सचिवको संयोजकत्वमा ३ सदस्यीय समिति बनेका छन्।

सबै समितिहरुका मुख्य उद्देश्य भनेको आफना क्षेत्र भित्रका सम्पूर्ण मतदातालाई समेट्नेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने कार्यतालिका तयार गरी समुदायस्तरका घरदैलोमा पुगेर स्वयंसेवकमार्फत मतदाता शिक्षा उपलब्ध गराउनु हो। यसको चाजोपाजो स्थानीय पालिकाले मिलाउनेछ।

स्वयंसेवकहरुले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन्।

यसैगरी, स्याङ्जाका ११ वटै स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्तिगत समेत तोकिएका छन्। अर्जुनचौपारी गाउँपालिकामा कमल भण्डारी, आँधीखोलामा गुरुदत्त ढकाल, फेदिखोलामा रामचन्द्र गुरुङ, बिरुवामा पिताम्बर पोखरेल, हरिनासमा सरोज मरासिनी, कालिगण्डकीमा हिरामणी पाण्डे र पुतलीबजार नगरपालिकामा बाबुराम बराल, भीरकोटमा रामप्रसाद खनाल, वालिङमा नरायणप्रसाद रेग्मी, गल्याङमा दशरथ उपाध्याय र चापाकोटमा रत्नखर आचार्यलाई प्रशिक्षण सहित जिम्मेवारी सुम्पिएको जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले जानकारी दिए।

Facebook Comments Box
TOP