हरियाणा र पञ्जाबमा पराल जलाएको धुवाँले नेपालमा वायु प्रदुषण ।

pollution..

 

काठमाण्डौ:

भारतको हरियाणा र पञ्जाबमा किसानहरूले पराल जलाउँदा उत्पन्न भएको धुवाँले नेपालमा वायु प्रदुषण भित्रिएको छ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार भारतका पञ्जाब र हरियाणा राज्यमा किसानहरूले खेतको परालमा आगो लगाएर उत्पन्न भएको धुवाँ नेपालतर्फ मोडिएको हो।

हावाको दिशा नेपालतर्फ मोडिएसँगै पश्चिम नेपालबाट प्रदुषित हावा नेपाल प्रवेश गरेको छ, पोखरेलले भने, मंगलबारसम्म हावाको दिशा नेपालतिर मोडिएको थिएन तर अब त्यो धुवाँ नेपाल प्रवेश गरेको छ।

भारतको हरियाणा र पञ्जाबमा लाखौं हेक्टर खेतमा किसानहरूले धान काटेपछि बाँकी रहने ठुटामा खेतमा आगो लगाउने गरेका छन्। भारतमा विगतमा किसानहरूले हातले नै धान काट्ने गरेका थिए। यसरी धान काट्दा निकै छोटा ठुटा मात्र खेतमा रहन्थे। तर किसानहरूले पछिल्ला वर्षमा धान काट्न कम्बाइन हार्भेस्टरु मेसिनको प्रयोग गर्ने गरेका छन्। यसरी मेसिनले धान काट्दा खेतमा झण्डै डेढ फिटको पराल बाँकी रहन्छ। यस्तो परालमा किसानहरूले भारतमा आगो लगाउने गरेका छन्। भारतको पञ्जाब र हरियाणा दुबै राज्यमा खेतको परालमा आगो लगाए जरिवाना तिर्नुपर्ने व्यवस्था छ।

तर किसानहरुले जरिवानाको परवाह गर्ने गरेका छैनन्। किनभने किसानहरूलाई धान थन्क्याएपछि गहुँ छर्न र अन्य तरकारी खेती गर्नका लागि छिटोभन्दा छिटो खेतलाई तयार गर्नुपर्ने हुन्छ। लामो लामो पराललाई नष्ट गर्न भारतमा सुपर स्ट्र म्यानेजमेन्ट सिस्टम(एमएमएस) मेसिनहरूको प्रयोग हुन थालेको छ। यस्ता मेसिनले धान काट्दा बाँकी भएका पराललाई टुक्र्याउँछन्। तर त्यस्तो मेसिन प्रयोग गरेपछि खेतमा गहुँ छर्न अर्को मेसिन प्रयोग गर्नुपर्ने हुन्छ। ह्याप्पी सिडरु नामको मेसिनले खेत जोतेर गहुँ छर्ने काम गर्छ। तर मेसिन गहुँ छर्नबाहेक अन्य काममा प्रयोग हुँदैन। यसरी तीन वटा मेसिन प्रयोग गर्दा किसालाई खेती गर्न प्रतिकठ्ठा ७ हजार भारुसम्म लागत लाग्छ। जसका कारण भारतीयहरू यसरी लागत बेहोर्नुभन्दा पराललाई खेतमा आगो लगाउने सजिलो उपाय अबलम्बन गर्ने गरेका छन्। भारतमा धेरै खेत हुने किसानहरूले ठूला मेसिनरी प्रयोग गर्ने गरेका भए पनि साना र थोरै खेत हुने किसानले मेसिनको कम प्रयोग गर्छन्। जसका कारण उनीहरूका लागि आगो लगाउनु सजिलो बनेको छ। भारत सरकारले यस्ता मेसिन किन्न ठूलो रकम छुट दिने गरेको भए पनि सबैजसो मेसिन ट्याक्टरमा जोड्नुपर्ने हुन्छ। सबै किसानसँग ट्याक्टर नभएका कारण मेसिन प्रयोग गर्न सक्दैनन्। त्यस्तै परालहरू चिसो भएको बेला मेसिनले राम्रोसँग काम नगर्ने भएकाले किसानले पराल सुकाएर अन्य खेती गर्ने समय पाउँदैनन्। त्यसैले पेट्रोल छर्किएर उनीहरूले आगो लगाउने गरेका छन्।
किसानले यसरी आगो लगाउँदा भारतको दिल्लीलगायत उत्तर प्रदेश र बिहार क्षेत्रमा ठूलो मात्रामा वायु प्रदूषण खेप्ने गरेका छन्। तर भारतमा खेतमा आगो लगाउने क्रममा कमी आएको छैन।

यसरी भारतका किसानले खेतमा आगो लगाउँदा उत्‍पन्न हुने धुँवा नेपालमा वर्षेनी भित्रन थालेको छ।

टेक कम्पनी गुगलको लाइभ फायर ट्र्याकर स्याटेलाइटले भारतको यी राज्यहरूमा वर्षेनी ठूलो मात्रामा आगो लगाइने गरेको तस्बिर खिच्ने गरेको छ। त्यस्तै अन्य स्याटेलाइटहरूले यसरी आगो लगाएपछि उत्पन्न भएको धुँवा नेपालतर्फ आउन थालेको देखाएका छन्।

नासाको भिजिबल इन्फ्रारेड इमेजिङ रेडियोमिटर स्विटु सेटेलाइट इमेजले नेपालको पश्चिम तराईको क्षेत्रबाट यस्तो प्रदूषित हावा भित्रिन थालेको देखिएको सहप्राध्यापक पोखरेलले बताए।

अहिलेको हावाको दिशा हेर्दा पराल डढाएर निक्लेको धुँवा मिसिएको हावा नेपालतर्फ पनि आउने सम्भावना बढी छ पोखरेलले भने, काठमाडौंलागयत देशका अन्य भागमा यसको प्रभाव भोलि र पर्सिसम्म रहने देखिन्छ।

यसरी प्रवेश गरेको हावाले काठमाडौं उपत्यकासहित देशभर वायुमण्डल धुम्म बनाउने पोखरेलले बताए। यसरी धुँवा काठमाडौं उपत्यकामा भित्रिएर धुम्मिएको अवस्थामा प्रदुषण हट्न समय लाग्ने पोखरेलले बताए।

यदि प्रदूषित हावा जम्मा भयो भने हट्नका लागि कि ठूलो हावा चल्नुपर्ने हुन्छ कि त पानी पर्नुपर्ने हुन्छु, पोखरेलले भने, अबको तीन महिनामा राम्रोसँग पानी पर्ने मौसमी प्रक्षेपणमा देखिँदैन।

काठमाडौंको वायू प्रदुषणमा भारतीय किसानले पराल जलाउने कारण मात्र कारक भने छैन। प्राध्यपक पोखरेलका अनुसार नेपालमा प्रदूषण बढ्नुमा हावाको गति कम हुनु र दसैं तिहारपछिको समयमा पानी नपर्नु पनि महत्वपूर्ण कारण हुन्।

त्यस्तै काठमाडौं उपत्यकामा भने रातको समयमा हुने इन्भर्सनका कारण पनि प्रदूषण कायमै रहने गरको पोखरेलले बताए।  उपत्यकाको जमिन रातभरि चिसो हुन्छ जबकी जमिनको सतहबाट २ सय मिटरमाथि तातो हुन्छ। हुनुपर्ने के थियो भने तलको वायुमण्डलभन्दा माथिको वायुमण्डल चिसो हुनुपर्ने थियो। अझ जमिन तातो हुनुपर्ने हो। तर उल्टो (इन्भर्स) हुने भएकाले तलै एउटा तहमा जमेर बस्ने र नजाने हुन्छ।

पोखरेलका अनुसार काठमाडौंमा यस्तो धुम्म परेको अवस्था अन्त्य हुन कि हावा बहनुपर्छ नभए वर्षा नै हुनुपर्छ।अहिले भारतबाट आइरहेको धुँवा सहितको प्रदूषित हावा काठमाडौं आउन विभिन्न डाँडा काटेर आउनुपर्छ। अहिले आइरहेको हावा धेरै माथिबाट आएर काठमाडौंमा थुप्रिएको अवस्थामा वायू प्रदूषण उच्च हुने पोखरेलले बताए।

Facebook Comments Box
TOP