कालीगण्डकी गाँउपालिकामा फूल बिक्रिबाट राम्रो आम्दानी ।

kaligandaki phul kheti

राधाकृष्ण डुम्रे,

स्याङजा, कात्तिक १७ गते :
कालीगण्डकी गाउँपालिकाले सयपत्री फूल बिक्री गरेर राम्रो आम्दानी गरिरहेको छ । तिहारको लागि लक्षित गरेर गाँउपालिकाको प्राय धेरै क्षेत्रमा फूल खेती गरिएको थियो । गाँउपालिकाले पनि फूलखेती गर्न अनुदान प्रदान गर्दै आएको छ ।
जिल्लामै पहिलो पटक गाउँपालिकाले ठूलो मात्रामा फूल खेतीको शुभारम्भ गरेको हो । सयपत्री फुलेर ढकमक्क भएपछि गाउँ नै सुन्दर देखिएको थियो भने बिभिन्न ठाँउबाट तिहारका लागि फूल लिन लिनका लागि व्यापारीहरु गाँउमा नै आई पुगेका थिए ।
बर्सेनि हजारौं रुपैयाँका माला खरिद गर्ने गाउँलेले गत वर्ष देखि भने आफैंले फुलाएको फूल उपयोग गर्नुको साथै बिभिन्न ठाँउमा बिक्रिका लागि समेत पठाएकाछन् ।
्गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उदेश्यले सयपत्री रोपण अभियान नै चलाएको गाँउपालिकाका अध्यक्ष खीमबहादुर थापाले जानकारी दिनुभयो ।


पालिकाका १५ ठाँउका झण्डै ६० रोपनी क्षेत्रमा व्यवशायीक रुपमा फूलखेती गरिएको अध्यक्ष थापाले बताउनु भयो । ११ जनाले व्यक्तिगत रुपमा,१ होमस्टे र ३ महिला समूहले व्यवशयाीक रुपमा फूल खेती गर्दै आएकाछन् । फूल खेतीका लागि पालिकाको ५० प्रतिशत अनुदान रहेको थापाको भनाई छ ।
निरन्तरको बर्षा र तिहार छिटो परेकाले फूल फूल्ने क्रम ढिलो भए पनि कृषकले राम्रो आम्दानी गरेका कालीगण्डकी गाँउपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिनुभयो । तिहारको समयमा फूल बिक्रिबाट मात्रै पालिकामा ८ लाख रकम भित्रिएको उहाँले बताउनु भयो ।
फूलखेतीमा स्थानीयलाई जागरुक बनाउने लक्ष्यका साथ शुरु गरिएको अभियान सफल भएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
पालिका भरी नै गरिएको फूलखेतीबाट राम्रो आम्दानी भईरहेको छ भने मालाका नाममा बर्सेनि लाखौं रुपैयाँ विदेशिने अवस्थालाई पनि केही हद सम्म भएपनि रोक्ने काम गरेको छ अधिकृत पाण्डेले भन्नुभयो । सीप र जाँगर भराउन पालिकाले सहयोग गरिरहेको उहाँको भनाई छ ।


सयपत्री फूलबाट कम समयमा राम्रो आम्दानी लिन सकिन्छ । सयपत्री सबैका लागि अत्यावश्यक फूल हो । विभिन्न चाडपर्व, पूजाआजा, कर्मकाण्ड र विवाहमा पनि सयपत्रीको अत्याधिक माग बढी हुने भएकाले यसतर्फ पालिकाले चासो बढाएको गाउँपालिकाले जनाएको छ ।
गत वर्षसम्म खाली र उपयोगबिहीन जग्गा अहिले फूलले रंगीन बनेको छ । व्यवसायीकतर्फ ध्यान खिचेको छ । फूलरोपण सम्बन्धी ज्ञान पाएका छन । बेरोजगार युवालाई आयआर्जन र होमस्टेका लागि प्रयोग हुने फूल उत्पादन गर्न सहज बनेको छ ।
चिसो हावापानी र घमाइलो ठाउँ भएकाले फूलखेती निकै राम्रो भएको छ । प्रति बोटबाट सामान्यतया: २ वटा माला बन्ने फूल फुलेका कृषहरुले बताएकाछन् । पालिकाले सिकाएको फूल रोपणखेतीबाट निकै खुशी भएको र आउदो वर्ष आफूले पनि खेती गर्ने इच्छा जागेको कृषकहरुको भनाई छ ।
कालीगण्डकी गाँउपालिकामा उत्पादित फूल र माला बुटवल, काठमाडौं, पोखरा र स्थानीय बजारमा बिक्री गरिने गाँउपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले बताउनु भयो ।
पालिकाले कर्मा ५५५ जातको सयपत्रीको बीउ ल्याएर जमाएर रोपेको जनायो ।

Facebook Comments Box
TOP