गल्याङ : ८६ करोड ५६ लाखको बजेट सर्बसम्मत पारित,जनतालाई केन्द्रमा राखेर काम गर्न नगरप्रमुख भट्टराईको आग्रह

Guru Bhattarai Galyang Mun

केपी खनाल/स्याङजा :
असार २२ गते । स्याङ्जाको गल्याङ नगरपालिकामा आगामि आर्थिक वर्षका लागि पेश गरिएको बजेट सर्वसम्मत पारित भएको छ । असार १० गते बसेको ११ औं नगरसभाको पहिलो बैठकमा पेश गरिएको आगामि आर्थिक वर्षको बजेट बुधबार बसेको दोश्रो बैठकले सर्बसम्मत पारित गरेको हो ।
बैठकमा नगरसभाका अध्यक्ष एवम् गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले जनतालाई केन्द्रमा राखेर आगामि आर्थिक बर्षको बजेट कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले गल्याङ नगरपालिकालाई सम्बृद्विमा लैजाने गरी बजेट तयार पारिएको भन्दै जनताका आकांक्षाहरु क्रमशः पुरा गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
नगरसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै नगरप्रमुख भट्टराईले भन्नुभयो –‘नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी बजेट आएको छ, सबै मिलेर यसको सही कार्यान्वयन गर्नुपर्छ ।’
जनताका आकांक्षा पुरा गर्नका लागि एक मिनेट पनि समय खेर फाल्न नहुने भन्दै उहाँले तोकिएका योजनाहरुलाई सही रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख भट्टराईले सम्मुनत नगर बनाउनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने भन्दै जनप्रतिनिधिहरु अझै बढि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नगर उपप्रमुख हेमा न्यौपानेले ८६ करोड ५६ लाख ४२ हजार रुपैयाँको बजेट पेश गर्नुभएको थियो । जसमध्ये ३७ करोड १० लाख रुपैंयाँ संघीय सरकारको सशर्त अनुदान रहेको छ भने बाँकी ४९ करोड ४६ लाख ४२ हजार नगरपालिकाको बजेट रहेको छ । चालु तर्फ १५ करोड ३७ लाख २७ हजार रुपैयाँ खर्चको अनुमान गरिएको छ । आगामी आर्थिक न्यौपानेले पेश गर्नुभएको आगामि आर्थिक वर्षको सो बजेट सर्वसम्मत पारित पारित भएको छ ।
बैठकमा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सम्पन्न नभएका योजनाको समय बढाउन प्राविधिक कारणले सम्भव नभएको जानकारी दिनुभयो । उहाँले सुत्रमा तोकिएको समय अवधि भित्र नै योजनाका कामहरुको भूक्तानी गर्ने व्यवस्था भएकाले नगरपालिकाले समय थप्न नमिल्ने बताउनुभयो । बैठकमा केही सदस्यहरुले केही अवधि बढाएर सम्पन्न नभएका योजनाहरु सम्पन्न गरी भूक्तानी दिने व्यवस्था मिलाउनुपर्ने बताएका थिए ।
यस्तै, बैठकले उपप्रमुख हेमा न्यौपाने संयोजक रहेको न्यायिक समिति गठन पनि गरेको छ । समितिका सदस्यहरुमा घना भट्टराई र विक्रम पाण्डे रहनुभएको छ । यसैगरी बैठकले होमबहादुर थापाको संयोजकत्वमा अरुण पल्ली र प्रकाश भट्टराई सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ । यस्तै विधायन समिति संयोजकमा दिपेन्द्रबहादुर राना तथा सदस्यहरुमा रमेश अधिकारी र लेसम थापा रहनुभएको छ भने सुशासन समितिमा संयोजक डोलमाया बस्याल रहनुभएको छ भने सदस्यहरुमा मोहन डुम्रे र सरिता वि.क. चयन हुनुभएको छ । बैठकले चार वटै समितिलाई सर्वसम्मत चयन गरेको हो ।

Facebook Comments Box
TOP