अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी ।

pankaj bikram nemwang..

काठमाण्डौ:

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन्। हिजो भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन्। नेम्बाङले कर्माछिरिङ शेर्पालाई हराए। ८४ भोट खसेकोमा नेम्बाङले ४५ भोट पाए भने शेर्पाले ३९ मत ल्याए।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा अध्यक्षमा राजीव पौडेल पनि प्रतिस्पर्धामा भए पनि एक भोट पनि ल्याएनन्।नेम्बाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने शेर्पा अध्यक्ष थिए। स्थानीय चुनावमा मेयरको दौड छाडेर नेम्बाङ एन्फामा भिडेका हुन्। काङ्ग्रेस नेता एवम् पूर्वमन्त्री नरेन्द्रबिक्रम नेम्बाङका छोरा उनी काङ्ग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन्।

उनी मेचीनगर नगरपालिकाको मेयरका पनि दाबेदार थिए। चुनावअघि पार्टी बैठकमा उनले भनेका थिए, यसपटक पार्टीले जसलाई उठाउँछ सहयोग गर्छु। आउँदो पटक मेयरमा मेरो दाबेदारी हुनेछ। यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाले। भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट बन्चित भएका थिए। यस्तै एन्फाको विधानविपरित मताधिकार दिइएको बन्दै दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको थियो।

निर्वाचनमा १४ वटा ए डिभिजन क्लब, ११ वटा बी डिभिजन क्लब र ९ वटा सी डिभिजन क्लबले मत खसाले। यसैगरी राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ वटा क्लबले मत दिए। एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिएका थिए।

Facebook Comments Box
TOP