विपदबारे पुर्व तयारी रहन विपद ब्यवस्थापन समिति स्याङ्जाको सुझाव

Bipad meeting syangja

भवानी अधिकारी,
स्याङ्जा,७ असार :

बर्षातको मनसुन सुरुभैसकेको र जिल्लामा पनि विपदजन्य घटना हुन सक्ने जनाउदै स्याङ्जाका ११ वटै पालिकालाई पूर्वतयारी अवस्थामा रहन सुझाव दिइएको छ ।
जिल्ला विपद ब्यवस्थापन समितिको स्याङ्जामा बसेको बैठकले विपदलाई ध्यान दिदै तयारी अवस्थामा रहन सुझाव दिएको हो । तत्काल आवशयक पर्ने डोजर, जेसिवी, लगायतका आवश्यकता अनुरुप सामाग्रीका साथै चालकहरुलाई समेत पूर्वतयारी अवस्थामा राख्न समेत सुझाव दिइएको छ ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाका ५ नगरपालिका सहित ६ वटा गाउँपालिकाले विपदका वेला आवश्यक सहयोग सामाग्री तयारगरी तयारी अवस्थामा राख्न सुझाव दिए ।
उनले विपद ब्यवस्थापन गर्न कोषमा रकम, आवश्यक पर्ने विपदजन्य सामाग्रीहरु खरिदगरी आ आफना पालिकामा मौज्याद राख्न र आवश्यकता अनुसारका सामाग्री ३ वटै सुरक्षा निकायलाई समेत उपलब्ध गराउनेगरी स्थानीय पालिकालाई अनुरोध गरे ।
विपदका बेला अस्पताल, स्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, रेडक्रस, उद्योग ब्यावसायी , सुरक्षाकर्मी, स्थानीयबासीले आ आफना क्षेत्रबाट सहयोग गर्न आ आफना संयन्त्रलाई परिचालन गर्ने जनाएका छन् ।
बैठकले पुतलीबजार नगरपालिका र फेदिखोला गाउँपालिकाको सिमानामा रहेका भालु पहाड, गल्याङ् नगरपालिका १ स्थित राम्दी प्रहरी चेकपोष्ट माथिको पहिरो, गल्याङ् २ को मगरसमाज भवन र सो वरपरका ४ घर लगायत आसपासका क्षेत्र, वडा नं. ३ लल्याङ् स्थित ८० घर परिवार उच्च जोखिममा रहेको पनि औल्याएको छ ।
यसैगरी, गल्याङ् नगरपालिका ५ सेतीवेणी बजारमा सेतीखोला र कालीगण्डकी किनारमा रहेको सेतीवेणी बजार डुवानको जोखिमा रहने, अर्जुनचौपारी २ जलजलेको पहिराले ४ घर र ५ वटा गोठ जोखिममा र कालीगण्डकी गाउँपालिकाको सिमाना रानीघाट— रुद्रवेणी पुल वपरपरका क्षेत्रपनि उच्च जोखिममा रहेको र उच्च निगरानी रहन सुझाव दिइएको छ ।
सिद्धार्थ राजमार्ग र स्थानीय पालिका जोड्ने सडकहरुमा समेत पहिरो जान सक्ने हुदाँ सडक डिभिजन कार्यालय पोखरा र सम्बन्धित स्थानीय पालिकाले समेत डोजर लगायत आवश्यक मेशिनरी सामाग्री सहित चालकलाई तयारी अवस्थामा राख्नुपर्ने भनिएको छ ।
यस्तै, बैठले विपद ब्यवस्था राहत कोषबाट उपलब्ध ७ लाख ४५ हजार तत्काल प्रदान गरिएको र गण्डकी प्रदेशबाट कोषमा उपलब्ध २ लाख रुपैया उपलब्ध गराउनेगरी अनुमोदन गरेको छ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, भीरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्य, वालिङ् नगरप्रमुख कृष्ण खाँण, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापा, हरिनास गाउँपालिका अध्यक्ष खिमबहादुर मानन्धर, विरुवा गाउँपालिका अध्यक्ष सूर्य कुँवर लगायत स्थानीय पालिकाहरुका प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधीहरु लगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी सहभागि थिए ।
प््राजिअको अध्यक्षतामा जिल्ला विपद ब्यवस्थापन समिति गठन भए जस्तै सबै स्थानीय पालिकामा पनि नगर तथा गाउपालिकाका प्रमुख तथा अध्यक्षको अध्यक्षतामा स्थानीय विपद ब्यवस्थापन समिति गठन भएका छन्।

Facebook Comments Box
TOP