स्याङ्जाका ११ वटै स्थानीय तहका प्रमुख एंव अध्यक्षले लिए पद तथा गोपनियताको सपथ

स्याङ्जाका ११ वटा स्थानीय तहका प्रमुख एंव अध्यक्षले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

स्याङजाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलबाट प्रमुख एंव अध्यक्षले सपथ लिएका हुन् । नवनिर्वाचित पुतलीबजार नगरपालिकाका तुलसीराम रेग्मी, वालिङका कृष्ण खाँण, गल्याङका गुरुप्रसाद भट्टराई, भीरकोटका गोविन्द कर्माचार्य, चापाकोटका देबबहादुर खाँण तथा फेदिखोला गाउँपालिकाका घनश्याम सुवेदी, आँधिखोलाका विश्व पौडेल, अर्जुनचौपारीका प्रकाश तिवारी, कालीगण्डकीका खिम थापा, विरुवाका सूर्य कुवर र हरिनासका खिमनारायण मानन्धरले सपथ लिनुभएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा उनीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथ गराउँदै प्रमुख निर्वाचन अधिकृत पौडेलले जिल्लामा भएरहित वातावरणमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउँनुभयो । उहाँले सहयोग गर्ने सम्बद्ध सबैलाई धन्यवाद दिँदै स्थानीय तहको अधिकार भित्र रही विकास र समृद्धि गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दासले अघिल्लो कार्यकालका जनप्रतिनीधिले स्थानीय तहको भौतिक पूर्वाधार, कानून निर्माण लागयतमा आधार स्तम्भ तयार पारेकाले बाँकी काममा खटिन अनरोध गर्नुभयो । उहाँले जिल्ला समन्वय समितको गठन तर्फ लक्षित गर्दै मतदाताले २ पार्टीलाई मिलेर जान सन्देश दिएकाले सहकार्य र सहअस्तित्वबाट अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले यसअघि दलिय प्रतिनीधिको रुपमा प्रतिष्पर्धामा भएपनि निर्वाचित भएपछि सबैको प्रनितिनिधी भएकाले साझा भई भूमिका निभाउन अनुरोध गर्नुभयो । मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले गर्नुभएको थियो । यसैवीच नवनिर्वाचित उपप्रमुख उपाध्यक्ष अध्यक्ष तथा सदस्यहरुलाई प्रमुख तथा अध्यक्षहरुले पालिका मै पद तथा गोपनियताको सपथ गराउने र पदवहाली गर्ने बताउनुभयो ।
पुतलीबजार नगरपालिकाका निर्वाचित जनप्रतिनीधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयीको प्रमाण पत्र वितरण गरेको छ । मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल, जिल्ला समन्वय प्रमुख सीताकुमारी सुन्दास र प्रमुख जिल्ला अधिकारी राजु प्रसाद मरासिनीले निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

निर्वाचित नगर प्रमुख तुलसीराम रेग्मीले सम्पूर्ण मतदाता एंव निर्वाचनमा खटिने सबैलाई धन्यवाद दिँदै वृहत योजना र श्रोतको व्यवस्थापन गरि पुतलीबजारको विकास र समृद्धिमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनी र कार्यक्रमको संचालन जिल्ला अदालतका शाखा अधिकृत कृष्ण मरासिनीले गर्नुभएको थियो । पुतलीबजारमा ९ वडा नेपाली काँग्रेस र ५ वडा नेकपा एमालेले विजयी हासिल गरेको छ । पुतलीबजारका निर्वाचित जनप्रनिनिधिले भोली विहान पदतथा गोपनीयताको सपथ तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो ।

Facebook Comments Box
TOP