काँग्रेसले उठायो २६ वर्षीय युवती रानालाई चापाकोटको उपमेयर

प्रकाश डोटेल,
स्याङ्जा, १९ बैशाख :

पछिल्लो सयम राजनीतिमा युवाहरुको आकर्षण र विश्वास घटेको भनिरहेको अवस्थामा स्याङ्जाको चापाकोट नगरपालिकामा २६ वर्षीया युवती उपमेयर (उपप्रमुख) पदमा उम्मेदवार बन्न सफल भएकी छन् । त्यो पनि पुरानो र बुढाहरुको पार्टी भन्ने आरोप खेपेको नेपाली काँग्रेस पार्टीबाट । नगरमा एक दर्जन बढि आन्तरिक आंकाक्षी हुँदाहुँदै सबैको विश्वासमा ईशा राना उपमेयरको उम्मेदवार बन्न सफल भएकी हुन् ।

“उमेर बढि भएको (पुरनो) वा नयाँ त जन्मका आधारमा पार्टी बन्दैबन्दैन् ।” नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापा भन्छन्, “पार्टी बन्छ त, त्यसले लिने कार्यदिशा र अंगिकार गरेको बिचारका आधारमा ।” आम नागरिकको विश्वास हासिल गर्दै स्थापना भएको काँग्रेस मुद्दा र बिचारका आधारमा पुरानो र अब्बल पार्टी हो थापा भन्छन् ।

२६ वर्षीया युवती ईशा रानालाई चुनाबी मैदानमा पठाएर काँग्रेसलाई पुरानो र बुढो पार्टी भन्नेहरुलाई ‘ईट्टको जवाफ पथ्थर’ले दिएको थापाले बताउँछन् । अन्य पार्टीको तुलनामा युवाको आकर्षण र बिचारमा अग्रगमनको प्रतिनिधित्व गर्ने पार्टी काँग्रेस नै भएको संविधासभा सदस्य समेत रहेका थापाले जिकिर गरे ।

तनहुँ जिल्लाको माझकोटकी चेली र स्याङ्जाको चापाकोटकी बुहारी रानाले सानो उमेरमै संगठनका लागि अनेकौ काम गरेकी छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेस राजनीतिमा प्रवेश गरेकी रानाले चापाकोट बहुमुखी क्याम्पसबाट सक्रिय राजनीतिमा लाग्दा २०७३ सालको स्ववियु निर्वाचनमा चापाकोट बहुमुखी क्याम्पसको सदस्यमा निर्वाचित भईन् ।

बुहारी मान्छे, शिक्षा क्षेत्रमा दरिदै गएका छिमेकी, घरपरिवारको काम र छरछिमेकीको विश्वासलाई आधार बनाएर राजनीतिमा होमिएकी राना २०७४ सालको स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएकी थिईन् । विद्यार्थी, बुहारी, स्थानीय एफएममा कार्यक्रम प्रस्तोता सँगसँगै राजनीतिबाट चापाकोटको सम्वृद्धि हासिल गर्नमा उनी अब्बल हुनेमा विश्वास जनाउँछन् स्थानीय ।

नेपाली काँग्रेसको राजनीतिमा युवावर्गमा प्रतिभाशाली महिला नेतृ मानिन्छिन् राना । स्पष्ट बोल्ने, खरो स्वभाव र हक्कीपन भएकी राना राजनीतिमा महिलाको उपस्थिति जोडदार र प्रभावकारी हुनुपर्ने बिचार राख्छिन् । काँग्रेस स्याङ्जाको जिल्ला समिति सदस्य रानाको काँग्रेस राजनीतिमा समकालीनको तुलनामा बलियो प्रभाव छ ।

“चापाकोट नगरपालिकाको प्रचुर सम्भाबनालाई उपयोग गर्दै आम नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सक्नेमा राना प्रति पार्टीले ठूलो विश्वास गरेको छ ।” गण्डकी प्रदेश सरकारका सदस्य भागवतप्रकाश मल्लले भने, “चापाकोटको उर्बर भूमी कृषिका लागि बहुउपयोगी, पर्यटनमा दरिलो र धार्मिक क्षेत्रका दृष्टिले महत्वपूर्ण मानिन्छ ।” स्वास्थ्य, शिक्षा र रोजगारमा नयाँ आउने नेतृत्वले कुनै कसर बाँकी नराखि काम गर्नुपर्ने मल्लले आवश्यकता औल्याए ।

२६ वर्षकी रानासँगै नेपाली काँग्रेस स्याङ्जाले चापाकोट नगरपालिकाको मेयरमा युवा नेता देबबहादुर खाँण ‘ईश्वर’ लाई चुनाबी मैदानमा उतारेको छ । काँग्रेसी मतदाता र जनमत बढि रहेको चापाकोटमा उनीहरु विजयी हुनेमा स्थानीयले विश्वास लिएका छन् ।

Facebook Comments Box
TOP