वालिङको मेयरमा उमेद्वारी दिएका निवर्तमान् मेयर दिलिपप्रताप खाँण को हुन् ?

विक्रम संवत २०२४ को भदौ १५ गते वालिङमा जन्मेका दिलिपप्रताप खाँणले २०३७ देखि नेविसंघमा आवद्ध भएर विद्यार्थी राजनीति शुरुवात गर्नुभएको हो । २०३९ देखि ४८ सालसम्म वालिङ स्थित पूर्णामृत भवानी विद्यालय देखि पृथ्वीनारायण क्याम्पस हुँदै त्रिचन्द्र क्याम्पसको नेविसंघमा रहेका काम गरेका दिलिप त्यसपछि पूर्णामृत भवानीमै शिक्षकका रूपमा काम गर्नु भएको थियो ।
२०४१ मा कांग्रेसको सदस्य बन्नुभएका दिलिप २०४६ सालको जनआन्दोलनमा सक्रियताका साथ भाग लिनु भएको थियो । उहाँलाई पंचायती सरकारले एक महिना हिरासतमा राखेको थियो । २०४९ देखि शिक्षकका रूपमा कार्यरत रहेका उहाँ २०५४ मा राजीनामा दिएर वालिङ नगरपालिकाको उपमेयरमा टिकट पाउनु भयो र जितेर देखाउनु भयो ।
५ वर्ष उपमेयर रहँदा कार्यशैलीका कारण दिलिप चर्चित समेत बन्नुभयो ।
२०६० बाट ७४ सम्म वालिङ नगरपालिकाकै सर्वदलीय संयन्त्रमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व दिलिपले जनाउनु भएको थियो । उहाँ ३ पटक वालिङ नगर सभापति भएर राजनीति गर्नुभयो भने, अहिले कांग्रेसको २ नम्बर क्षेत्रीय सभापतिका रूपमा काम गरिरहनु भएको छ ।
विसं २०५४ को स्थानीय निर्वाचनमा वालिङ नगरपालिकाको उपमेयर निर्वाचित भएका दिलिप प्रताप खाँण २०७४ को स्थानीय निर्वाचनमा मेयर निर्वाचित हुनु भएको थियो । २०७४ मा नगरपालिकाको मतदाता संख्या करीब ३२ हजार थियो भने दिलिपप्रताप खाँणले १०६०० मत ल्याएर निर्वाचित हुनु भएको हो ।
आफू कांग्रेसका तर्फबाट मेयर भएकाले तत्कालीन नेकपा सरकारले आफूलाई वास्ता नगरेको दिलिप खाँणको गुनासो रहदै आएको छ ।
मैले राम्रो काम गर्दा गर्दै २ वर्ष अगाडि केन्द्रले नै वालिङको बजेट काटेको खाँणले सुनाउनु भयो । ’राजनीतिक प्रतिशोधकै आधारमा स्मार्ट सिटीलाई आउनुपर्ने वार्षिक एक अर्ब र अन्य योजनाका लागि केन्द्रबाट आउनुपर्ने ४२ करोड केन्द्रले दिएन,’ दिलिपले भन्नुभयोे, ’सम्झौता भइसकेको थियो, रातो किताबमा पनि थियो तर बजेटमा रकम लेख्दा जिरो जिरो लेखिएछ ।’
बजेट कटौतीको असरले काम अधुरो रहेको, सडक पीच गर्न नसकिएको, आँधिखोला कोरिडोर निर्माणमा अवरोध भएको र आफूलाई कमजोर बनाउन एमालेका कतिपय मन्त्रीहरू नै लागेको दिलिपको गुनासो छ ।

आफू अवरोध भएका तीनै परियोजनालाई अघि बढाउनकै लागि योपटक मेयरमा उठेको दाबी नगरप्रमुख खाँणको छ ।
तत्कालिन सरकारले वालिङ नगरपालिकालाई स्मार्ट सिटि बनाउने घोषणा गरेसँगै दिलिप खाँण नेतृत्वको स्थानीय सरकारले २० बर्षे दीर्घकालिन योजना बनाएर अगाडि बढेको छ ।
नगरपालिकाले बनाएको बिकास र दीर्घकालिन योजनाको सोचलाई कार्यान्वयन गर्न र वालिङलाई आर्थिक प्रगतीमा जोड्ने उद्देश्यका साथ पुन नगरप्रमुखमा उमेद्वारी दिएको दिलिप खाँणको भनाई छ । उहाँ भन्नुहुन्छ, केही अधुरा कामहरु छन् केही नयाँ शुरु गर्नु छ वालिङलाई थप सुदृढ र सक्षम बनाउनु छ त्यसैले मेरो उमेद्वारी रहेको हो ।
स्थानीय तहको बैसाख ३० गते हुने निर्वाचनमा काँग्रेसका दिलिप प्रताप खाँण र एमालेका कृष्ण खाँण बीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

स्थानियतह २०७४ को अवस्था :
वालिङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका दिलिप प्रताप खाँणले १०६०० मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुण्यप्रसाद अर्यालले ८७४९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हुम बहादुर गुरुङले १२३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका छम कला कुबरले २७०, राष्ट्रिय जनमोर्चाका राजेन्द्र प्रसाद गैह्रेले ११४ र स्वतन्त्रका डोलराज विकले ११ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी कल्पना तिवारीले ९८९५ मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की खगीसरा थापा मगरले ९३५७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेत्र कुमारी पौडेल भट्टराईले १०४६, राष्ट्रिय प्रजातन्त्र पार्टीका दोर्ण बहादुर गुरुङले ३७३, नयाँ शक्ति पार्टी, नेपालकी दीपा भुसाल ९८ र राष्ट्रिय जनमोर्चाकी मेनुका सार्कीले ३५ मत ल्याउनुभएको थियो ।
१४ वडा रहेको वालिङ नगरपालिकाकोे वडा नं १, २, ३, ५, ८, ९ र ११ गरी सात वटा नेपाली काँग्रेसले र बाँकी रहेको ४, ६, ७, १०, १२, १३ र १४ गरी सात एमाले विजयी भएको थियो ।

 

Facebook Comments Box
TOP