त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपाललाई ।

cricket nepal win

काठमाण्डौ:
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी)लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १८ रनमा समेटियो ।

उसका लागि सेसे बाउले अर्धशतकीय इनिङस् खेल्दै ५९ रन बनाउँदा चार्लस अमिनीले १५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका दिपेन्द्र सिंह ऐरीले चार, करण केसीले तीन र सन्दीप लामिछाने दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रनको पारी खेल्दा आशिफ शाह २९, कुशल भुर्तेल २५, अदिल आलम १५ रन बनाएर आउट भए । करण केसीले १२ रनमा ३३ रन बनाएर नटआउट रहे ।

बलिङतर्फ सेमो कमिआले तीन तथा चाड सोपर, काबुआ मोरी र रिले हेकुरेले समान एक–एक विकेट लिए ।

नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित श्रृङ्खलामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको थियो । नेपालले चारवटै खेलमा जित निकाल्दै आठ अंक जोडेको थियो ।नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने तेस्रो खेलमा पपुवा न्युगिनीलाई ३७ रनले तथा चौथो खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको थियो ।

यस्तै पपुवा न्युगिनी र मलेसिया दुवैले चार खेलमध्ये एकमा जित तथा तीनमा हार ब्येहोरेका थिए । पपुवा न्युगिनी रनरेटमा मलेसियालाई उछिन्दै श्रङ्खलाको फाइनलमा प्रवेश गरेको हो । यसअघि पपुवा न्युगिनीले कीर्तिपुर मैदानमै सम्पन्न दुई खेलको एकदिवसीय श्रङ्खला २–० ले जितेको थियो । नेपालले पहिलो एकदिवसीय खेल ६ रनले तथा दोस्रो एकदिवसीय खेल ३ विकेटले गुमाएको थियो ।

 

Facebook Comments Box
TOP