पल शाह प्रकरणमा बालिकाले बयान फेरिन् ।

Pal Shah

काठमाण्डौ:
कलाकार पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी छन् ।

नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि उनले बयान फेरेकी हुन् । अदालत समक्ष उनले शाहले आफूलाई करणी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको, अरुको उक्साहटमा जाहेरी दिएको बताएकी छन् ।
‘केही दिन पहिले पल शाहकी बहिनीले गायिका र उनको परिवारलाई भेटिछन् । धरधरी रोएर ‘मेरो दाइलाई छुटाइदिनुस्, दुईजनाको बिहे गरिदिने जिम्मा मेरो भयो’ भनिछन्,’ ती कानुन व्यवसायीले भने, ‘परिवारको र नाबालिकाको पनि मन पग्लिएछ क्यारे । बिहान अदालत जाने बेला बयान फेर्दैनौं भनेरै गएका हुन् ।’ जबर्जस्ती करणीको मुद्दामा जाहेरीकर्ता बयान फेर्दा हुने कानुनी कारबाहीको बारेमा नाबालिका र उनको परिवारलाई पटकपटक सम्झाइबुझाई गरे पनि अहिले बयान फेर्नुले आफूलाई समेत अचम्मित तुल्याएको ती कानुन व्यवसायीले बताए ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ । बालिकाला बुवा आमा लगायतको बकपत्र भने बाँकी छ ।बुवा, आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ । पीडितहरुले दबाबमा परेर बिगतमा पनि अदालतमा बयान फेरेका घटना छन् । अदालतले प्रहरी ल्याएको भन्दा आफूसँग गरेको बयानलाई मुद्दा छिनोफानोमा मूल प्रमाण मान्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो । तनहुँमा करणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।
जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन् । प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ ।

शाहविरुद्ध चैत ८ मा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए । जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटिसकेका छन् । पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो । उच्च अदालतले पेशी तोकिसकेको छैन ।

 

Facebook Comments Box
TOP