दीपेन्द्रसिंह ऐरी टी-२० विश्व वरीयताको अलराउन्डर सूचीको दशौं स्थानमा ।

Dipendra-Singh-Airee

काठमाण्डौ:

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० वरीयताको अलराउन्डर सूचीको दशौं स्थानमा रहन सफल भएका छन्।

१० दिनअघि काठमाडौंमा सम्पन्न मलेसिया र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्र आइसिसीको वरीयतामा शीर्ष दशभित्र पर्न सफल भएका हुन्।
उनले सिरिजमा २५५ रन जोड्दा ७ विकेट लिन सफल भएका थिए। प्लेयर अफ दि सिरिज भएका उनी प्रतियोगिताको सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए। यस्तै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा भने उनी चौथो स्थानमा रहेका थिए।

दीपेन्द्रले पिएनजीविरूद्धको फाइनलमा अलराउन्डर प्रदर्शन गर्दा नेपाल ५० रनले विजयी हुँदै च्याम्पियन बनेको थियो। प्लेयर अफ दि फाइनल समेत भएका उनले नटआउट ५४ रन जोडे भने ४ विकेट लिन सफल भएका थिए।

सिरिजमा दीपेन्द्रले मलेसियाविरूद्ध शतक प्रहार गरेका थिए। मलेसियाविरूद्ध उनले ११० रन जोडेका थिए। यो नेपाली ब्याट्सम्यानले टी-२० मा प्रहार गरेको उच्च स्कोर हो। साथै उनले सिरिजमा एक हजार टी-२० अन्तर्राष्ट्रिय रन पूरा गरेका थिए। उनी नेपालका लागि एक हजार टी-२० रन पूरा गर्ने पहिलो खेलाडी हुन्।

सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि अलराउन्डरको सूचीमा दशौं नम्बरमा परेका दीपेन्द्रको १५२ रेटिङ छ। अराउन्डरको शीर्ष स्थानमा अफगानिस्तानका मोहमद नाबी, दोस्रो स्थानमा बंगलादेशका सकिब अल हसन र तेस्रो स्थानमा इंग्ल्यान्डका मोइन अली छन्।

यता टी-२० बलरको वरीयतामा नेपालका कप्तान सन्दीप लामिछाने ३८औं स्थानमा छन्। शीर्ष स्थानमा दक्षिण अफ्रिकाका तबरेइज शाम्सी छन्। दोस्रो स्थानमा इंग्ल्यान्डका अदिल रसिद र तेस्रो स्थानमा अस्ट्रेलियाका जोश हजलउड छन्। नेपालका अभिनास बोहरा ८६ औं स्थानमा छ।

ब्याट्सम्यानको वरीयतामा नेपालका कुशल भुर्तेल ३६औं र दीपेन्द्रसिंह ऐरी ३८औं स्थानमा छन्। यस्तै आसिफ शेख ९९औं स्थानमा रहेका छन्। शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम, दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एडिन मक्रम र तेस्रो स्थानमा पाकिस्तानका मोहमद रिजवान छन्।

 

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP