मौरी पालनबाट वार्षिक १८ लाख आम्दानी
प्रकाश डोटेल,
स्याङ्जा, २७ चैत्र :
स्याङजाको भीरकोट नगरपालिका ७ खिलुङ् देउरालीका रत्नबहादुर गुरुङ् मौरीपालन व्यवसायमा लागेको पनि झण्डै १७ वर्ष पुगेछ । २ वटा परम्परागत मौरीका घारबाट व्यवसाय शुरु गरेका गुरुङ्को मौरीपालन व्यवसाय यतिबेला मौरी उद्योगमा परिणत भएको छ ।
गुरुङ्ले चिउरीखर्क मौरीघार उद्योग स्थापना गरी व्यवसाय गर्दै आएका छन् । वार्षिक रुपमा मह, गोलाघार, खाली घारबाट १८ लाख आम्दानी गर्दै आएको गुरुङ्ले बताए । उनले मौरीसहितको घार ९ हजार र खाली घार ४ हजार र मौरी मात्रै प्रतिगोला ५ हजारमा बिक्री गर्दै आएका छन् ।
मौरीपालन व्यवसायमा धेरै लगानी र दुःख गर्न नपर्ने भएकाले गुरुङ्ले दैनिक रुपमा बिहान बेलुका १०/१२ घण्टा मौरीकै स्याहारमा बिताउँछन् । वार्षिक रुपमा २ सय गोलाघार, ३ सय खाली घार र मह समेत बिक्री गर्दै आएका गुरुङ्ले बजारीकरणमा कुनै समस्या नभएको बताउँदै मौरीपालन व्यवसायमा श्रीमती र अन्य २ जना सहयोगीले सहयोग गर्दै आएको सुनाए ।
खाली मौरीका घार, मौरीसहितको घार, मौरी तथा महको नियमित बिक्रीवितरण गर्दै आएको गुरुङ्ले बताए । उत्पादन गर्दै आएको मौरी तथा घार स्थानीय तहले समेत खरिद गरेर अनुदानमा कृषकहरुलाई वितरण गर्दै आएको हौसिदै उनले जानकारी दिए । गुरुङ्को घरको बार्दली, झ्याल, घरपछाडि रहेको कर्सालगायत वरिपरि सेरेना जातको मौरीका सेताम्मे घार देख्न सकिन्छ ।

गुरुङ्को मौरीपालन उद्योगमा हाल ९५ घार छन् । केहि घार मह उत्पादनका लागि र केहि घार विभाजन गरी घार बिक्रीका लागि तयारी अवस्थामा राखेका छन् । प्रति घारबाट ४ गोलामा रुपान्तरण गर्न सकिने गुरुङ्ले बताउँछन् । जेष्ठसम्म २ सय घार पु¥याउने र १ सय २५ घार बिक्री गर्ने सोच बनाएको उनले बताए ।
करिब १७ वर्ष पहिले गुरुङले ‘गण्डकी बि कन्र्सन’बाट मौरीपालनका लागि २० खाली घार ल्याएका थिए । कन्र्सनबाटै आएका प्रशिक्षक स्व. सानुराम श्रेष्ठले ४ दिन लगाएर दुई घरबाट ४ घारमा रुपान्तरण गरेको देखेर सोहि समयदेखि गुरुङ्ले मौरीपालन तथा घार बिक्रीमा लाग्ने सोँच बनाएको स्मरण गरे ।
कारपेन्टरको अनुभव समेत रहेकाले आफ्नै फर्निचरबाट गुरुङले मौरीका घारहरु निर्माण गर्दै आएका छन् । मौरीको घारको लागि सिमल, बकाईनो, मौवा, उतिसजस्ता रुख उपयुक्त हुने गुरुङ्ले बताए । असोज, कार्तिक, मंसिर मौरी विभाजन र चैत्र, बैशाख, जेठ महिना मह निकाल्ने उपयुक्त समय मानिन्छ ।
सेरेना जातको मौरीको न्यूटन बि टाईपको घार उपयुक्त हुने भन्दै मौरीले राम्रो मह उत्पादन गरेमा १५ दिनमा महदानीको साथबाट मह निकाल्न सकिने गुरुङले सुनाए । वार्षिक ५० देखि १ सय किलो मह उत्पादन गर्दै आएको उनले बताए ।
मौरी विकास शाखा ललितपुर, जिल्ला कृषि ज्ञान केन्द्र कार्यालयलगायतका विभिन्न स्थानमा प्रदान गरिएका तालिम लिएका गुरुङ्ले जिल्ला कृषि ज्ञान केन्द्रबाट १ लाख ८० हजार अनुदान प्राप्त गरेको बताए । हरेक दिन हजारौँ युवाहरु विदेशीरहेका बेला गुरुङले आफ्नो सिप, बुद्धि र बललाई आफ्नै गाउँमा लगानी गर्न युवाहरुलाई आग्रह समेत गरे ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


