रेडियो आँधीखोलाको १६औँ साधारण सभा, नियमति स्रोत तथा विज्ञापनदाता सम्मानित

कला राना,

वालिङ २८ फाल्गुन :

आँधीखोला संचार सहकारी संस्था लिमिमटेड रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ को १६औँ वार्शिक साधारण सभा सम्पन्न भएको छ । घ्याङलिङ स्थित रेडियोको प्रांगणमा भएको साधारण सभाको उद्दघाटन गर्नुहुँदै वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले रेडियो समयअनुकुल परिमार्जित हुँदै अगाडि बढ्नुपर्ने भन्दै बढ्दो आधुनिक प्रविधिकोे प्रयोग गर्दै रेडियोलाई अझै सशक्त बनाउनुपर्ने बताउनुभयो । प्रमुख खांणले भन्नुभयो, ‘प्रविधिको विकास संगै स्रोताले चाहेका कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै जानुपर्छ । समयसापेक्ष कार्यक्रम उत्पादनले संस्थालाई आर्थिक रुपमा बलियो बनाउन पनि मद्दत गर्छ । रेडियो सक्षम हुन सक्यो भने स्वतन्त्र पनि हुन्छ । ’

साथै प्रमुख खांणले रेडियोलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आईरहेको भन्दै सञ्चार जगतलाई माथि उकास्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा नगरउपप्रमुख कल्पना तिवारीले २०६२÷०६३ को जनआन्दोलनपछि जिल्लामा संचारको आवश्यकता महशुस गरी यहाँका राजनितिक दल तथा सामाजिक अभियान्ताहरुको अग्रसरतामा जिल्लामै पहिलो सञ्चारको रुपमा रेडियो आँधीखोला स्थापित भएको भन्दै रेडियोलाई यहाँसम्म पु¥याउन सेयर सदस्य, विज्ञापनदाता, विभिन्न संघसंस्था, सञ्चारप्रेमीको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा पुर्व मेयर भोजराज अर्याल, रेडियोका निर्वतमान अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनी, वडा नंं ८ का वडा अध्यक्ष कमलप्रसाद सुवेदी, नेपाली कांगे्रस वालिङ नगर उपसभापति सिता थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, विभिन्न सहकारीहरुबाट गाउँबेसि वचत तथा ऋण सहकारीका अध्यक्ष विद्या श्रेष्ठ, सेयर सदस्यहरुबाट डिलबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले संस्थाको वार्शिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थालाई मजबुद बनाउन आर्थिक पक्षलाई बलियो बनाउने, सेयर सदस्यहरुलाई अनिवार्य १० हजार पु¥याउने प्रथम साधारण सभाको निर्णय अनुसार तदारुकता देखाउने, नयाँ शेयर थप गर्ने, भौतिक सुधार गरिने तथा प्राविधिक पक्षलाई मजबुद बनाउने, कार्यक्रमहरु स्रोताको चाहाना र समाजको आवश्यकताका आधारमा सञ्चालन गर्ने, कर्मचारीको सिप विकास गर्ने, अन्य रेडियोसंग समन्वय सहकार्यतालाई निरन्तारता दिने, रेडियोलाई निष्पक्ष र पारदर्शिता बनाउनेलगायत उल्लेख गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ, लेखा संयोजक विमल अर्यालले समेत आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सञ्चालक समिति सदस्य श्रीकृष्ण सिग्देल, सञ्चालन सचिव यमकान्त खनाल र धन्यवाद सदस्य युगमाया पंगेनीले गर्नुभएको थियो । कार्यक्रममा नियमित स्रोता ९ जनालाई सम्मान गरिएको थियो । खेमप्रसाद कोईराला, खगेन्द्रप्रसाद अर्याल, थमन अर्याल, गोपिकृष्ण तिवारी, लोकनाथ खनाल, मोहन सारु, रमेश श्रेष्ठ, रामबहादुर परियार, लोकबहादुर खड्कालाई नियमित स्रोताको रुपमा सम्मान गरिएको हो ।

त्यस्तै नियमित विज्ञापन दाताहरु चिउरीखर्क मौरी उद्योगका रत्नबहादुर गुरुङ, हिमाल सुँनचाँदी पसलका हिमलाल विक, प्रसन्न मेडिको फर्माका प्रदिप आले र अर्किड कम्प्युटरका गोविन्द गैह्रेलाई सम्मान गरिएको थियो भने उत्कृष्ठ कर्मचारी बजार व्यवस्थापक संगिता मगरलाई सम्मान गरिएको थियो ।

दोस्रो जनआन्दोलनपछि २५८ जना सेयर संकलन गरी २०६३ भदौ १३ गते नेपाल सरकार प्रशिक्षण सहकारी संस्था पोखरामा आँधीखोला सञ्चार सहकारी संस्थाको रुपमा दर्ता भई २०६३ कै अशोज २८ गते रेडियो आँधीखोला २५० वाट क्षमताबाट १०५.४ मेगाहर्ज फ्रिक्वेन्सीमा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति प्राप्त गरेको हो ।

२०६४ मंसिर ६ गते स्याङजा जिल्लाको पहिलो आवाजको रुपमा परीक्षण प्रसारण भई स्याङ्जालाई सञ्चार जगतमा सुुसूचित बनाईएको हो । हाल ५०० वाट क्षमतामा प्रसारित रेडियो गण्डकी र लुम्बिनी प्रदेशका १२ जिल्लामा र अनलाईन www.radioandhikhola.org र हाम्रो पात्रोको एपमा समेत संसारभर सुन्न सकिन्छ । ४६१ जना सेयर सदस्य रहेको रेडियोले ज्ञान, सूचना, प्रविधि, शिक्षा तथा जनचेतनामुलक कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आम नागरिकलाई सुसूचित बनाउँदै आएको छ । रेडियो दैनिक १८ घण्टा प्रसारणमा छ ।

Facebook Comments Box
TOP