रुस–युक्रेन द्वन्द्वबाट प्रभावित पाँच सय ११ नेपाली सुरक्षित गन्तव्यमा ।
![Ukraine](https://aadhikholakhabar.com/wp-content/uploads/2022/02/ukrain-case.jpg)
काठमाण्डौ:
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित पाँच सय ११ नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्। रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति बैठकलाई बिहीबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतका देशमा पुगेको जानकारी दिए।
समितिका अनुसार हालसम्म चार सय तीनजना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी र चारजना माल्दावा पुगेका छन्। उद्धार गरिएकामध्ये चार नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। युक्रेनबाट निस्केकामध्ये ४० नेपालीले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) लिएका जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।
बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोवास गर्दै आएकाले पारिवारिक र व्यावहारिक कारणले युक्रेन छोड्न नसकेका जानकारी दिए। उनले अप्ठ्यारोमा परेका नेपालीलाई आर्थिक सहयोगसमेत गराउने उद्देश्यले संघको पोल्यान्ड राष्ट्रिय समितिलाई आर्थिक संकलनका लागि अनुमति दिएको बताए।
उपाध्यक्ष केसीले एनआरएनएका राष्ट्रिय समितिहरू उद्धार कार्यमा सक्रिय रूपमा लागिपरेको जानकारी दिँदै एनआरएनए पोल्यान्डको सक्रियतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाए। रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानियामा आयोजित एक सम्मेलनमा सहभागी भएर युद्ध प्रभावित नेपालीहरूको समस्यबारे जानकारी दिए। विश्वभरका एक सयभन्दा बढी देशका प्रतिनिधि सहभागी सो सम्मेलनमा पोखरेलले युक्रेनबाट विस्थापित भएर रोमानिया आएका नेपालीलाई सहयोग गर्न आग्रह गरे।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा.बोध सुवेदीले युक्रेनतर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुँदै गएको जानकारी दिए। उनले उद्धारका लागि आग्रह गर्ने नेपालीको संख्या कम हुँदै गएको र अवस्था सामान्य बन्दै गएको बताए। गैरआवासीय नेपाली संघ स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले आफ्नै रेस्टुरेन्टमा बनाएको सेल्टरमा नेपालीलगायत अन्य देशका नागरिकलाई समेत राखेर मानवीय सहयोग गरेको जानकारी दिए।
उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीको नियमित रूपमा तथ्यांक संकलन गर्दै आएको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। बैठकमा उद्धारका लागि विभिन्न देशका सीमाक्षेत्रमा खटिएका सुरेन्द्र श्रेष्ठ -हंगेरी, पनव खड्का -पोल्यान्ड, सन्तोष भट्टराई -जर्मनी, चिरञ्जीवी खड्का -चेक रिपब्लिका लगायतले सीमाक्षेत्रको स्थलगत विवरण प्रस्तुत गरेका थिए।
समाचार
थप सामाग्री![](https://aadhikholakhabar.com/wp-content/uploads/2025/01/lamichhane-468x300.jpg)
अदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…