त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ।

 

काठमाण्डौ:
त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, दीपेन्द्र सिंह ऐरी २१, दिलिप नाथ १५ तथा रोहित पौडेलले १२ रनको योगदान गरेका छन । मलेसियाका पवनदिप सिंहले २ तथा मुहमद अमिर र सेइद अजिजले १–१ विकेट लिएका छन ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो । मलेसियाका जुबैदी जुल्किफ्ले सर्वाधिक ३२ रन बनाएका थिए ।त्यस्तै, कप्तान अहमेद फैज २४, मुहम्मद अमिर १६ र सेद अजिजले १४ रन जोडेका । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ तथा अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए । यो जितसँगै नेपाल सिरिजको फाइनल नजिक पुगेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेकोथियो ।

 

Facebook Comments Box
TOP