पत्रकार महासंघको स्थापना दिवस : बिरामीलाई फलफुल वितरण

वालिङ(स्याङ्जा):
नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा फलफुल वितरण गरिएको छ । महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ स्याङ्जाले जिल्लाका विभिन्न अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेको हो । पत्रकार महासंघ स्याङ्जा शाखाले जिल्ला अस्पताल स्याङ्जा, वालिङ नगर अस्पताल, चापाकोट नगर अस्पताल र गल्याङ नगर अस्पतालमा उपचारार्थ रहेका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी दिनुभयो ।


हरेक बर्ष चैत्र १६ गते पत्रकार महासंघले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । यो बर्ष स्याङ्जा शाखाले अस्पतालका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल दिएर स्थापना दिवस मनाइएको शाखाका अध्यक्ष सिग्देलले बताउनु भयो । स्याङजा शाखाले जिल्ला सदरमुकाममा उपाध्यक्ष भवानी अधिकारी, चापाकोटमा जिल्ला सदस्य रामु भट्टराई, गल्याङमा गण्डकी प्रदेश प्रतिनिधि हिमाल न्यौपाने र वालिङमा शाखाका अध्यक्ष सिग्देलको नेतृत्वमा फलफुल वितरण कार्य सम्पन्न गरिएको जनाएको छ ।


मुलुकका हरेक परिवर्तनमा पत्रकार महासंघले महत्वपुर्ण भुमिका खेल्दै आएको बताउदै अध्यक्ष सिग्देलले पत्रकारहरुका लागि आएको श्रमजीवी ऐन लामो समयदेखी लागु नहुनु दुखद रहेको बताउनु भयो । राजनीति भन्दा माथी उठेर समाजमा लुकेका र लुकाइएका विषयबस्तुको उठानमा नेपाली पत्रकारहरु लाग्न यो स्थापना दिवसले सबैलाई उर्जाशिल बनाउने छ अध्यक्ष सिग्देलले भन्नुभयो । स्याङ्जाका चार पालिकामा रहेका स्थानीय अस्पतालमा सक्रिय भुमिका सहित सहभागिता जनाएर पत्रकार महासंघको ६७ औंस्थापना दिवस मनाएकोमा स्याङजावासी सबै पत्रकारहरुलाई अध्यक्ष सिग्देलले धन्यवाद समेत दिनुभएको छ ।

 

Facebook Comments Box
TOP