ट्वान्टी–२० विश्वकप छनोटमा नेपालको शानदार जीत ।
काठमाण्डौ:
कुशल भुर्तेलको शतकमा नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा लगातार दोस्रो विजय हात पारेको छ । शनिबार कमजोर फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरी नेपाल सेमिफाइनल नजिक पुगेको हो ।
फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले कुशल भुर्तेलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय १८ रन बनायो । जबाफमा आएको फिलिपिन्सले ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो ।
फिलिपिन्सबाट जोर्डन एलेग्राले २७ रन बनाई अविजित रहे । ओपनर डायिनल स्मिथले २० रन र कप्तान जोनाथन हिल्सले ११ रन बनाए । नेपालबाट कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चे । जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र पहिलो खेल खेलिरहेका गुलशन झाको नाममा १–१ विकेट रहयो । यसअघि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा १ सय ७१ रनको साझेदारी गरी नेपाललाई विशाल स्कोरमा उभ्याएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी साझेदारी हो । कुशल १ सय ४ रन बनाई अविजित रहे । दीपेन्द्र ८३ रन बनाएर अन्तिम दोस्रो ओभरमा आउट भए ।
कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने तेस्रो नेपाली खेलाडी बने । यसअघि नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए । पारसले सिंगापुरमा २०१९ मा त्रिकोणात्मक शृंखलामा अविजित १ सय ६ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्रले २०१९ मा नेपालमा दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध १ सय ७ रन बनाएका थिए । ३२ बलमा अर्धशतक पुरा गरेका कुशल भुर्तेलले ६१ बल खेली १३ चौका र १ छक्का प्रहार गरे । उच्च फर्ममा रहेका दीपेन्द्र ४७ बल खेली ६ चौका र ७ छक्का प्रहार गरे ।
नेपालले पुनस् एक पटक राम्रो सुरुआत गर्न सकेको थिएन । आसिफ शेख दोस्रो ओभरको पहिलो बलमै शुन्यमा आउट भए । आफुले सामना गरेको पहिलो बलमै आसिफलाई डानियल स्मिथले एलबीडब्लु आउट गरे ।
प्रतियोगितामा पहिलो खेल खेलिरहेको कुशल मल्ल १० बलमा १२ रन बनाई मिगी पोडोस्कीको बलमा आउट भए । कुशल नेपालको १४ सदस्यीय टोलीमा रहेका थिएनन् । तर भेट्रान शरद भेषावकर एङकलको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि मौका पाएका कुशललाई शनिबार फिलिपिन्सविरूद्ध सोझै खेल्न दिइएको थियो ।
यसै प्रतियोगितामार्फत ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेको फिलिपिन्सविरूद्ध ओमनले अघिल्लो दिन २ सय १६ रन बनाउदै खेल १ सय १८ रनले खेल जितेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १३ र फिलिपिन्स ४७ औं स्थानमा छ ।
नेपालले अघिल्लो दिन ओमानमाथी ३९ रनको महत्वपूर्ण विजय हात पारेको थियो । समूह ‘बी’ को अर्को खेलमा घरेलु टोली ओमानले क्यानाडालाई ९ विकेटले पराजित गरेको छ । नेपालको ४ तथा ओमान र क्यानाडाको २–२ अंक छ । फिलिपिन्स पहिलो दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘ए’ मा यूएई, आयरल्यान्ड, बहराइन र जर्मनी छन् । सेमिफाइनल जित्ने दुई टोली अस्ट्रेलियामा यसै वर्ष हुने ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्नेछ ।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…