गल्याङमा २२ हजार वटा बाख्रालाई निशुल्क पिपिआर विरुद्वको खोप लगाईयो ।

गल्याङ :

स्याङ्जाको गल्याङ नगरपालिकामा २२ हजार वटा बाख्राका लागि निशुल्क पिपिआर विरुद्वको खोप लगाइने भएको छ । नगरपालिकाका ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने गल्याङ नगरपालिकाले जनाएको छ ।
बाख्रामा लाग्न सक्ने पिपिआर रोग महामारीको रुपमा फैलन सक्ने भन्दै गल्याङ नगरपालिकाले पहिले नै खोपको व्यवस्थापन गरेको हो ।
गल्याङ नगरपालिकामा हाल करिब २२ हजार बाख्रा रहेको र सबै बाख्रालाई खोपको व्यवस्था गरिने बताइएको छ ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बाख्रामा लाग्न सक्ने रोगको रोकथामका लागि निशुल्क खोपको व्यवस्थापन गरिएको बताउनुभयो ।
उहाँले व्यवसायिक रुपमा बाख्रापालन गर्नेहरुको संख्या बढिरहेको भन्दै रोगको अग्रिम रोकथाममा पनि नगरपालिका लागिरहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘उत्पादन बढाउनका लागि नगरपालिकाले कुनै कसर बाँकी राख्दैन, किसानहरुलाई आवश्यक पर्ने सबै कुरामा हाम्रो उत्तिकै ध्यान छ ।’
उहाँले उत्पादनका आधारमा बाख्राको मासुमा पनि अनुदानको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसानमा उत्साह आएको भन्दै उहाँले मासुमा पनि प्रतिकिलोका दरले अनुदान दिने कार्यविधि बनाउन लागिएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले दुध किनेर खानुपर्ने नगरपालिकामा अहिले दैनिक तीन हजार लिटर दुध निर्यात भैरहेको भन्दै उत्पादनका आधारमा किसानलाई अनुदान दिदा वास्तविक किसानसामु अनुदान पुग्ने बताउनुभयो ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले केही ठाउँहरुमा बाख्रामा रोग देखिएको भन्दै गल्याङमा रोग नदेखिदै रोकथाम गर्न खोजिएको बताउनुभयो ।
गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले नगरपालिका भित्रका एउटा पनि बाख्रा नछ्ुटुन भन्ने हिसाबले निशुल्क खोपको व्यवस्थापन सबै वडा मार्फत गरिएको जानकारी दिनुभयो ।
नेपालमा २०५०÷५१ मा पहिलो पटक पिपिआर रोग देखा परेको र त्यसपछि महामारीको रुपमा देखिएको उहाँले जानकारी दिनुभयो । पिपिआर विरुद्वको खोप लगाउनका लागि गल्याङ नगरपालिका पशु चिकित्सक डाक्डर अनिस सापकोटा सहित पशु प्राविधिकहरु वडा वडामा खटिएका छन् ।

 

Facebook Comments Box
TOP