गल्याङ नगरपालिकामा १७ सय बंगुरका पाठापाठी वितरण

गल्याङ :

स्याङ्जाको गल्याङ नगरपालिकामा १७ सय वटा बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा १७ सय वटा बंगुरका पाठापाठी वितरण गरिएको हो ।
नगरपालिकाका ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी वितरण गरिएको छ । गल्याङ नगरपालिका ७ मा रहेको श्री कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत साझेदारीमा बंगुरका पाठापाठी वितरणको काम भैरहेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बताउनुभयो ।
अनुदान वितरण कार्यक्रममा सहकारीलाई सहभागी गराउने निती अनुसार उक्त सहकारीलाई यसको जिम्मा दिएको उहाँले बताउनुभयो ।
नगरप्रमुख अधिकारीले दुध उत्पादनका साथै मासुमा पनि गल्याङलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘मासुको क्षेत्रमा पनि व्यवसायिक र आत्मनिर्भर किसान उत्पादन गर्ने नगरपालिकाको लक्ष्य छ । हामी विक्रीको ग्यारेण्टी दिएर किसानलाई उत्साह ल्याउन लागि परेका छौं ।’


नगरप्रमुख अधिकारीले बाख्रा पालनका लागि नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) मार्फत काम भैरहेको भन्दै बंगुर पालनका लागि नगरपालिकाले आफै कार्यक्रमको संयोजन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘अहिले पहिलो चरणमा नगरपालिकाबाट ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ, किसानको उत्साहको आधारमा थप रकम विनियोजन गरेर बंगुरको मासु र पाठापाठीमा आत्मनिर्भर बनाउने अभियानमा हामी लागेका छौं ।’ नगरप्रमुख अधिकारीले अहिले वितरण गरिएको पाठापाठीबाट अर्को वर्षमा दश हजार पाठापाठी र तीन करोडको मासु उत्पादन हुने अपेक्षा गरिएको बताउनुभयो । यस आधारमा दुई वर्षमा दुई अर्बको बंगुरको मासु र पाठापाठी उत्पादन गर्ने लक्ष राखिएको उहाँको भनाई छ ।
उहाँले उत्पादित मासु र पाठापाठी विक्रीको ग्यारेण्टी नगरपालिकाले लिएकाले किसानहरु ढुक्कसँग बंगुरपालन व्यवसायमा लागेको बताउनुभयो । भविश्यमा पोखरा तथा बुटवलमा सहकारी मार्फत आफ्नै कोल्ड स्टोर स्थापना गरी विक्रीको व्यवस्थापन गर्न सकिने पनि बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले किसानहरुको माग भए अनुसार बंगुरका पाठापाठी वितरण गरिएको जानकारी दिदै बंगुरपालक किसानहरुका लागि तालिमको पनि व्यवस्था गरिएको बताउनुभयो । उहाँले विभिन्न १५ स्थानमा किसानलाई आवश्यक तालिम पनि दिइएकाले तोकिएको लक्ष्य प्राप्त हुने आशा गर्नुभयो ।
पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले बंगुरका पाठापाठी वितरण कार्यक्रमबाट नगरपालिका भित्रका करिब एक हजार किसान परिवार लाभान्दित भएको जानकारी दिनुभयो । उहाँले बंगुरका लागि निशुल्क विमा, निशुल्क खोप र जुकाको औषधी (ड्रेञ्चिङ) को पनि व्यवस्था गरिएको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका पशु चिकित्सक डाक्टर अनिस सापकोटाले किसानहरुलाई आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सेवाका लागि आफुहरु तयार रहेको बताउनुभयो । किसानहरुमा अहिले बंगुरपालनमा उत्साह देखिएको भन्दै यसकै माध्यमबाट जीविकोपार्जन गर्न सकिने अवस्था आउने विश्वास व्यक्त गर्नुभयो ।
कल्लेरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कुमार रानाले ११ वटै वडामा पुगेर बंगुरका पाठापाठी वितरण गरिएको बताउनुभयो ।
एउटा बंगुरको पाठापाठीलाई छ हजार रुपैयाँ पर्नेमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसानको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भैरहेको हो ।
रानाले अहिलेसम्म ब्राह्मण समुदाय बाहेक अन्य परिवारहरु यस कार्यक्रममा सहभागी भएको जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP