गल्याङ-९ साङ्लीयामा विश्वकर्मा मन्दिर उद्घाटन तथा भवनको शिलान्यास

गल्याङ :
विपन्न समुदायको उत्थानमा आफ्नो प्रमुख जोड रहेको गल्याङ नगरप्रमुख अधिकारीको भनाई
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका ९, साङ्लीयामा विश्वकर्मा टोल मन्दिरको उद्घाटन भएको छ ।
शुक्रबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मन्दिरको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा उहाँले विपन्न र पछि पारिएका समुदायको उत्थानका लागि नै आफ्नो प्रमुख ध्यान रहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘विपन्न परिवारको उत्थान नगर्दासम्म विकास हुन सक्दैन, त्यसैले हामीले सबैभन्दा बढि उनीहरुको विकासमा जोड दिनुपर्छ ।’
गरिब परिवारको स्तर उन्नतीका लागि जोड दिएकै कारण आफ्नो कार्यकालमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै उहाँले गल्याङमा विकासमा सुधार हुँदै गरेको बताउनुभयो । कोरोना संक्रमणका कारण लामो समय र स्वास्थ्यमा खर्च गर्नुपरेको भन्दै उहाँले केही परिवर्तन भएपछि धेरै काम बाँकी रहेको बताउनुभयो ।
किसान परिवारका लागि बंगुर पालन, कुखुरापालन लगायतका धेरै योजनाहरु ल्याएको भन्दै उहाँले नगरपालिकाले ल्याएका योजनाहरुमा सहभागी भई लाभ लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका पूर्व जिल्ला सदस्य निमप्रसाद खनालले स्थानीय तहको निर्वाचन पछि गल्याङ नगरपालिकामा अपेक्षित विकास भएको बताउनुभयो । उहाँले गल्याङको वडा नम्बर ९ सबैभन्दा गरिब र विपन्न परिवार रहेको क्षेत्रको रुपमा किन थियो ? भनेर समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।


कार्यक्रममा तुलसीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारी, स्थानीय फर्सुराम अर्याल, कमल विक, दिपक राना लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख अधिकारीले विभिन्न २८ जना जेष्ठ नागरिकहरुलाई स्वीटर प्रदान गरि सम्मान पनि गर्नुभएको छ ।
कार्यक्रममा दश लाखको लागतमा निर्माण हुन लागेको दलित सामुदायिक भवनको शिलान्यास पनि गरिएको छ । मन्दिरसँगै निर्माण गर्न लागिएको भवनको शिलान्यास नगरप्रमुख अधिकारीले गर्नुभएको हो ।
यसैबीच, मन्दिर निर्माण भएको र सामुदायिक भवन बन्दै गरेको साङ्लीयाको दलित बस्तीमा खेलकुद मैदान पनि निर्माणको काम सुरु भएको छ । शुक्रबार देखि नै जेसिबी ब्याक हु लोडर प्रयोग गरि निर्माण सुरु गरिएको खेल मैदानको नगरप्रमुख अधिकारीले निरिक्षण गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको छ ।
दलित वस्ती रहेको साङ्लीयामा स्थानीय निर्वाचन पछि मोटरबाटो, खानेपानी, सामुदायिक भवन, मन्दिर खेल मैदान जस्ता विकासका संरचनाहरु बनेपछि स्थानीयबासी खुशी भएका छन् ।
यस्तै, नगरप्रमुख भुपराज अधिकारीले गल्याङ नगरपालिका ९ मा नै रहेको नेत्रज्योति आधारभूत विद्यालयको अनुगमन गर्दै विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्वता पनि जनाउनुभएको छ । सो अवसरमा विद्यालयका प्रधानाध्यापक ज्योतिलाल खनालले विद्यालयको छत चुहिने अवस्थामा रहेको, शौचालय मर्मत गर्नुपर्ने अवस्था रहेको र दुई कोठे भवनको आवश्यकता रहेको बताउनुभयो । जवाफमा नगरप्रमुख अधिकारीले सो कोरोना कहरका कारण विद्यालयको अनुगमन तथा सहयोगको काम राम्रो सँग हुन नसकेको भन्दै अब आवश्यक सम्पूर्ण काम गर्ने प्रतिबद्वता जनाउनुभयो ।

 

Facebook Comments Box
TOP